
आगामी प्रतिनिधिसभा निर्वाचनलाई सुरक्षित, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले सुदूरपश्चिम प्रदेशमा १५ हजारभन्दा बढी अस्थायी निर्वाचन प्रहरी परिचालन गर्ने भएको छ। भर्ना आवेदन खुला भएसँगै प्रदेशका नौवटै जिल्ला प्रहरी कार्यालयमा इच्छुक युवाहरूको उल्लेखनीय भीड देखिएको छ।

निर्वाचन सुरक्षा योजनाअनुसार सुदूरपश्चिमभर कुल १५ हजार १८८ जना निर्वाचन प्रहरी भर्ना गरिनेछ। जनसंख्या, मतदानस्थल संख्या र निर्वाचन क्षेत्रको चापका आधारमा जिल्लागत कोटा निर्धारण गरिएको छ। सबैभन्दा बढी जनशक्ति कैलालीमा र सबैभन्दा कम दार्चुलामा खटाइनेछ।
तथ्यांकअनुसार कैलालीमा ४ हजार ९८, कञ्चनपुरमा २ हजार ३२७, अछाममा १ हजार ६४२, बझाङमा १ हजार ५८०, बैतडीमा १ हजार ३७५, डोटीमा १ हजार १३६, बाजुरामा १ हजार ६०, डडेल्धुरामा १ हजार ४० र दार्चुलामा ९३० जनाको कोटा तोकिएको छ।


नेपाल प्रहरी–सशस्त्र प्रहरी बल नेपाल कार्यविधि २०८२ को मापदण्डअनुसार भर्ना प्रक्रिया अघि बढाइएको हो। सुदूरपश्चिमका १६ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र प्रदेशभर रहेका १ हजार १७६ मतदानस्थलको सुरक्षा व्यवस्थापनमा यो जनशक्ति परिचालन गरिनेछ।
आवेदन खुल्नासाथ देखिएको युवाहरूको उत्साहले निर्वाचनको माहोल थप सक्रिय बन्दै गएको संकेत गरेको छ।































