
धनगढी : सुदूरपश्चिमको प्रसिद्ध तीर्थस्थल कैलालीस्थित गोदावरीधाम कुम्भमेला क्षेत्रमा लघुकुम्भका रूपमा आयोजना हुँदै आएको बाह्रराशी दर्शन मकर मेला २०८२ आयोजना हुने भएको छ।

मेलाको उद्घाटन पुस ३० गते दिउँसो १ बजे धार्मिक विधिविधानअनुसार विशेष पूजाआजासहित गरिने आयोजकले जानकारी दिएको छ। उद्घाटन कार्यक्रममा सन्त–महन्त, आचार्य, धार्मिक, सामाजिक, राजनीतिक तथा प्रशासनिक क्षेत्रका विशिष्ट व्यक्तित्व, गुरुकुलका वटुहरू तथा श्रद्धालुहरूको सहभागिता रहनेछ।

पुस ३० देखि माघ १२ गतेसम्म सञ्चालन हुने मेलामा पाँचवटा पुराण वाचन, ग्रहशान्ति, लक्षहवन, योग–ध्यान, भजन–कीर्तन तथा धार्मिक प्रवचनजस्ता कार्यक्रमहरू आयोजना गरिने छन्।

गोदावरीधाम विकास समितिका अध्यक्ष पदम राजजोशीका अनुसार उक्त धार्मिक अनुष्ठानमा देशभरका श्रद्धालु तथा विभिन्न सामाजिक र धार्मिक संघ–संस्थालाई सहभागिताका लागि सादर अनुरोध गरिएको छ।































