
थारु समुदायमा आज जिता पर्व हर्षोल्लासका साथ मनाइँदै छ। पश्चिम नेपालका थारु समुदायले माघी पर्वको पूर्वसन्ध्यामा, पुस महिनाको अन्तिम दिन जिता पर्व मनाउने परम्परा रहिआएको छ।

जिता पर्वका अवसरमा बङ्गुर (जिता) मारेर सामूहिक रूपमा उत्सव मनाइने चलन छ। यो पर्व माघीको तयारी र स्वागतका रूपमा लिइन्छ। थारु समुदायमा माघी पर्वलाई नयाँ वर्षका रूपमा मनाउने परम्परा रहेको छ।
जिता पर्वका कारण आज सुदूरपश्चिम प्रदेशमा सार्वजनिक बिदा दिइएको प्रदेश सरकारको राजपत्रमा उल्लेख गरिएको छ। पुसको अन्तिम दिनदेखि माघ १ र २ गतेसम्म विभिन्न सांस्कृतिक तथा पारिवारिक कार्यक्रमसहित माघी पर्व मनाइन्छ। माघ १ गतेलाई राष्ट्रिय पर्वका रूपमा सार्वजनिक बिदा दिइँदै आएको छ भने त्यसपछिका दिनहरूमा स्थानीय तहबाट समेत बिदा दिने प्रचलन रहँदै आएको छ।






























