गोदावरी धाममा बाह्रराशि दर्शन मकर मेला सुरु, धार्मिक र आध्यात्मिक उल्लास

Image
Nisarga Hospital

अत्तरिया: कैलालीको गोदावरी धाममा बाह्रराशि दर्शन मकर मेला औपचारिक रूपमा सुरु भएको छ । सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तीर्थस्थल गोदावरी धाममा मकर संक्रान्तिको अवसर पारेर सुरु भएको मेलाको उद्घाटन गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्टले एक विशेष समारोहका बीच गरेका हुन् ।

CP Hospital Dhangadhi

गोदावरी धाम विकास समितिका अध्यक्ष पदमराज जोशीका अनुसार प्रत्येक वर्ष कुनै न कुनै राशिमा कुम्भ मेलाको योग पर्ने भएकाले कुम्भ मेलाको प्रतीकका रूपमा बाह्रराशि दर्शन मकर मेला आयोजना गरिँदै आएको छ । धाम परिसरमा बाह्र राशीको स्थापना गरिएको छ भने कुम्भ वाटिकामा बाह्र राशीसहित नवग्रह, २७ नक्षत्र तथा बाह्र आदित्यको स्थापना गरी भक्तजनका लागि दर्शन तथा पूजाअर्चनाको व्यवस्था मिलाइएको छ ।

oplus_32

मकर मेलामा सुदूरपश्चिमका विभिन्न जिल्लासँगै सीमावर्ती भारतका विभिन्न स्थानबाट समेत भक्तजनहरू आउने गरेका छन् । मकर संक्रान्तिको दिन माघ १ गते गोदावरी धाममा स्नान गर्ने श्रद्धालुहरूको विशेष घुइँचो लाग्ने गर्दछ । आज बिहानैदेखि धाममा भक्तजनको आवागमन उल्लेख्य रूपमा बढेको छ ।

nawajiwan
Attariya Hospital

आयोजकका अनुसार गोदावरी धाममा प्रत्येक १२ वर्षमा महाकुम्भ, ६ वर्षमा अर्धकुम्भ तथा प्रत्येक वर्ष बाह्रराशि दर्शन मकर मेला सञ्चालन गर्ने लक्ष्यअनुसार महाकुम्भपछि नियमित रूपमा मकर मेला आयोजना हुँदै आएको हो । आजदेखि माघ १२ गतेसम्म सञ्चालन हुने मेलामा पाँचवटा पुराण वाचन, ग्रह शान्ति, लक्षहवन, योग–ध्यान, भजन–कीर्तन तथा धार्मिक प्रवचनजस्ता विविध कार्यक्रमहरू आयोजना गरिने छन् ।

oplus_32

मेलाको उद्घाटन कार्यक्रममा सन्त–महन्त, आचार्य, धार्मिक, सामाजिक, राजनीतिक तथा प्रशासनिक क्षेत्रका व्यक्तित्वहरू, गुरुकुलका बटुहरू तथा ठूलो संख्यामा श्रद्धालुहरूको सहभागिता रहेको थियो ।