
अत्तरियाः कैलालीको अत्तरियामा अवस्थित महिला तथा बालबालिका सेभ हाउसमा माघे संक्रान्तिको अवसर पारेर न्यानो मानवीय सहयोग गरिएको छ। गोदावरी नगरपालिका वडा नम्बर २ निवासी रुपेश बिकको परिवारले सेभ हाउसमा आश्रित बालबालिकालाई खाद्यान्न सामग्री तथा फलफूल वितरण गर्दै पर्वको खुशीयाली साटेको हो।

पछिल्लो समय सामाजिक सञ्जाल तथा विभिन्न कार्यक्रममार्फत परिचित नाम बनेका रूपलाल बिक (रुपेश) हालै सम्पन्न सिर्जनशील गोदावरी सांस्कृतिक महोत्सवमा महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्दै स्थानीयदेखि राष्ट्रिय कलाकारहरूको सुरक्षामा सक्रिय भूमिका निर्वाह गरेका थिए। सार्वजनिक कार्यक्रममै देखिएको उनको सेवाभाव यसपटक सामाजिक उत्तरदायित्वमा रूपान्तरण हुँदै सेभ हाउसका बालबालिकासम्म पुगेको छ।
सहयोग कार्यक्रममा बुवा फगि बिक, आमा गङ्गा देवी बिक, भाइ देब सिंह बिक तथा परिवारका अन्य सदस्यहरूको संयुक्त सहभागिता रहेको थियो। सहयोग सानो भए पनि यसले सेभ हाउसमा आश्रित बालबालिकालाई माघे संक्रान्तिको अनुभूति दिलाउन सफल भएको बुवा फगि बिकले बताए।
माघे संक्रान्तिलाई नेपाली समाजमा दान–पुण्य, परोपकार र धर्म–कर्मको महत्वपूर्ण पर्वका रूपमा लिइन्छ। यही भावनालाई आत्मसात् गर्दै बिक परिवारले महिनाको सुरुवातमै अन्नदान र फलदानमार्फत बालबालिकाको सेवामा समर्पण हुनु नै साँचो धर्म हो भन्ने सन्देश दिएको छ।
सहयोगप्रति सेभ हाउसकी अध्यक्ष जानकी मलासीले आभार व्यक्त गर्दै यस्ता मानवीय कार्यले बालबालिकाको मनोबल बढाउने र समाजमा सकारात्मक सन्देश प्रवाह हुने बताइन्। माघे संक्रान्तिबाट सुरु गरिएको यो सेवायात्राले आगामी दिनमा पनि निरन्तरता पाओस् भन्ने कामना गरिएको छ।






























