
अत्तरियाः कैलाली–५ बाट उज्यालो नेपाल पार्टीका उम्मेदवार चन्द्र साउदले प्रतिनिधि सभा सदस्यको लागि निर्वाचन अधिकृत कार्यालयमा मनोनयन दर्ता गरेका छन्। उनले आफ्नो उम्मेदवारी दर्ता गर्दै विकास, रोजगार सिर्जना र नागरिक हकहितका विषयमा केन्द्रित कार्यक्रम अघि सारेका छन्।

साउदको पृष्ठभूमि सुदूरपश्चिम र लुम्बेनी–कर्णालीका हजारौँ बेरोजगार युवालाई छोटो अवधिका व्यावसायिक तालिम प्रदान गर्नदेखि सुरु हुन्छ। उनी नेपाली उपभोक्ता महासंघको अध्यक्ष रहँदा उपभोक्ताका हकहितमा समेत सक्रिय रहिसकेका छन्। धनगढीमा सुकुम्बासी उत्थान तथा तालिम सञ्चालन गर्दै युवालाई सीप र रोजगारी उपलब्ध गराउने कार्यमा लामो अनुभव संकलन गरेका साउदले अब राष्ट्रिय स्तरमा आफ्नो योगदान विस्तार गर्ने लक्ष्य राखेका छन्।
पछिल्लो समयमा उनी तालिम तथा रोजगार महासंघको अध्यक्ष समेत रहँदै यस क्षेत्रका जनतालाई प्रत्यक्ष सेवा प्रदान गर्दै आएका छन्। चन्द्र साउदले भनिरहेका छन् कि उनले प्रतिनिधि सभा सदस्य बनेपछि विकास, रोजगारी सिर्जना, युवाको सिप विकास र उपभोक्ताको हकहित सुनिश्चित गर्न ठोस कदम चाल्ने योजना बनाएका छन्।


देश विकासको नयाँ मोडेलको रूपमा उज्यालो नेपाल पार्टी र कुलमान घिसिङको नेतृत्वमा धनगढीका चन्द्र साउदले स्थानीय युवा, समुदाय र क्षेत्रको समृद्धिका लागि योगदान दिने लक्ष्य राखेका छन्। यस उम्मेदवारीमार्फत उनी युवाको सशक्तिकरण, शिक्षा र रोजगारमा केन्द्रित नीति निर्माणतर्फ अघि बढ्न चाहन्छन्।
उम्मेदवार चन्द्र साउदको चुनावी अभियानबाट विकास, पारदर्शिता र जनता केन्द्रित नीतिमा आधारित हुनेछ, जसले कैलाली–५ क्षेत्रका जनताको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।































