गोदावरी–४ बन्दगडाको मष्टाधाममा शिला स्थापना, दुधे मष्टामा सर्प देखिएपछि चमत्कारको चर्चा

Image
Nisarga Hospital

कैलालीको गोदावरी नगरपालिका–४ बन्दगडामा अवस्थित ऐतिहासिक तथा धार्मिक आस्थाको केन्द्र मष्टाधाममा शिला स्थापना गरिएको छ। सोमबार आयोजित धार्मिक कार्यक्रममार्फत मष्टाधाममा रहेका ३ मुख्यसहित १२ वटै धामहरूमा शिला राखिएको हो।

CP Hospital Dhangadhi

मष्टाधाम व्यवस्थापन समितिका अध्यक्ष गणेश जिमि साउँदका अनुसार मष्टका मुख्य देवता दुधे मष्टा, दाडे मष्टा र जलान्धरी मष्टाका धाममा विशेष रूपमा शिला स्थापना गरिएको छ। यसका साथै ४ पञ्चाङ्गनमा कालिका, गणेश, विष्णु र लक्ष्मीका मूर्ति समेत विधिवत रूपमा स्थापना गरिएको छ। शिला तथा मूर्ति स्थापनासँगै मष्टाधामको धार्मिक महत्व अझ बढेको स्थानीयको विश्वास छ।

Attariya Hospital

यसैबीच, दुधे मष्टामा शिला राख्ने क्रममा अचानक सर्प देखिएपछि मन्दिर परिसरमा चासो र चर्चा बढेको छ। अध्यक्ष साउँदका अनुसार सर्प देखिने समय नभए पनि मन्दिरभित्र सर्प देखिनुलाई देवताको चमत्कारका रूपमा लिइएको छ। उनले मष्टाधाम स्थापना गर्नुअघि २०७५ सालमा धामीले शिला स्थापना गर्दा देवताले सर्पको रूपमा दर्शन दिने भविष्यवाणी गरेको स्मरण गराए।

nawajiwan

धामीको भनाइअनुसार सात वर्षपछि शिला स्थापना गर्ने क्रममा सर्प देखिनु आस्थावान भक्तजनका लागि विशेष संकेतका रूपमा लिइएको छ। सर्प देखिएको खबर फैलिएपछि मन्दिरमा स्थानीय भक्तजनहरूको भिड लागेको थियो। केही समयपछि उक्त सर्प चमत्कारिक रूपमा गायब भएको अध्यक्ष साउँदले जानकारी दिए।