कैलारीका किसान सनोज चौधरीको माछापालन व्यवसायमा मनग्य आम्दानी

Image
Nisarga Hospital

कैलारी गाउँपालिका–५ गोबरेलाका किसान सनोज चौधरीले माछापालन व्यवसायबाट एक याममा करिब रु २ लाख ५० हजार बचत गर्दै आएका छन्। करिब दश कट्ठा क्षेत्रफलमा व्यावसायिक रूपमा पोखरीमा पङ्गासेस, कमन कार्प, ग्रास र रहुँ जातका माछा पालन गर्दै आएका उनले एक याममा रु १३ लाख बराबरको माछा बिक्री हुने जानकारी दिएका छन्।

CP Hospital Dhangadhi

चौधरीका अनुसार सुरुमा अनुभवको कमीका कारण माछा मर्न जाने समस्याले चुनौती दिएको थियो, तर अनुभव बटुलेपछि व्यवसाय मनग्य आम्दानीमा परिणत भएको छ। माछा होलसेलमा प्रतिकिलो रु २५० र फुटकरमा रु ३०० मा बिक्री हुने बताउँदै उनले अवैध रूपमा भारतीय माछा आयात हुनुले बिक्री मूल्यमा वृद्धि हुन नसकेको गुनासो गरे।

उनले उत्पादित माछा धनगढी, टीकापुर र स्थानीय बजारमा बिक्री हुने जानकारी दिए। व्यवसाय सुरु गर्न आवश्यक पोखरी निर्माण, पानी तान्ने मोटर र माछापालन जालको लागि कैलारी गाउँपालिका र भेटेरिनरी सेवा केन्द्रबाट अनुदान प्राप्त भएपछि व्यवसाय सहज भएको उनले बताए।

पछिल्ला वर्षमा सरकारी अनुदान र प्राविधिक सहयोगको प्रभावले गोबरेलामा व्यावसायिक माछापालनमा संलग्न किसानको संख्या बढ्दै गएको केन्द्रले जनाएको छ। चौधरीको उदाहरणले साना किसानहरूका लागि नयाँ व्यावसायिक अवसरको मार्गदर्शन प्रदान गरेको छ।