
छिमेकी मुलुक भारतमा निपाह भाइरसको सङ्क्रमण पुष्टि भएपछि नेपालमा फैलिन नदिन भारतसँग जोडिएका पश्चिमी सीमा नाकामा स्वास्थ्य निगरानी कडा पारिएको छ। सुदूरपश्चिम प्रदेशका भारतसँग जोडिएका प्रमुख नाकाबाट नेपाल प्रवेश गर्ने यात्रुहरूलाई लक्षित गर्दै सतर्कता अपनाइएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ।

स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीका अनुसार कैलालीको गौरीफन्टा र खकरौना, दार्चुलाको खलङ्गा, बैतडीको झुलाघाट तथा कञ्चनपुरको गड्डाचौकी नाकामा स्थापना गरिएका हेल्थ डेस्कमार्फत यात्रुहरूको निगरानी भइरहेको छ। ती नाकामा प्रवेश गर्ने व्यक्तिको स्वास्थ्य अवस्था, ज्वरो तथा अन्य लक्षणको परीक्षण गरिँदै आएको छ।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै कोभिड–१९ महामारीका समयमा निर्माण गरिएका आइसोलेसन वार्डहरू पनि तयारी अवस्थामा राखिएको छ। आवश्यक परे तत्काल प्रयोगमा ल्याइने तयारी गरिएको निर्देशनालयले जनाएको छ।

































