
सर्लाहीको मलङ्गवामा भौतिक पूर्वाधार विकास कार्यालयमा कार्यरत सब-इन्जिनियर प्रमोद यादव माथि अज्ञात व्यक्तिद्वारा गोली प्रहार गरी हत्या गरिएको घटनाप्रति नेपाल इन्जिनियर्स एशोसिएसन, सुदूरपश्चिम प्रादेशिक कार्यालयले गम्भीर खेद प्रकट गरेको छ।

एशोसिएसनले दिनदहाडै राष्ट्रसेवकमाथि गरिएको जघन्य अपराधले नागरिकको सुरक्षा र इन्जिनियरहरूको सुरक्षाको अवस्था प्रति गम्भीर प्रश्न उठाएको जनाएको छ। घटना भएको दुई दिन बितिसक्दा पनि अपराधी पक्राउमा नआएकोले आक्रोश बढेको छ।
यसैबीच, एशोसिएसनले दोषीको छानबिन र कडा कारबाहीका लागि फागुन ५ गते देशव्यापी विरोध कार्यक्रम घोषणा गरेको छ। विरोध कार्यक्रम अन्तर्गत:

-
बिहान १०:०० देखि १२:०० बजेसम्म जिल्ला प्रशासन कार्यालयमार्फत गृहमन्त्री समक्ष ज्ञापनपत्र बुझाउने
-
सम्पूर्ण इन्जिनियरहरूले कालोपट्टी बाँधेर कार्यस्थलमा काम गर्ने
-
अपराह्न १:०० देखि ३:०० बजेसम्म Pen Down कार्यक्रम
-
साँझ ६:०० बजे धनगढी पार्क मोड, महेन्द्रनगर भेटघाट चौतारी लगायत विभिन्न स्थानमा दीप प्रज्वलन र विरोध सभा

आज (फागुन ५) केन्द्रिय सदस्य ई. पूर्ण कुवरको नेतृत्वमा ज्ञापनपत्र कैलाली जिल्ला प्रशासन कार्यालयमा बुझाइएको छ। तेसै गरी कंचनपुर, डडेल्धुरा र बझाङका एशोसिएसनका प्रतिनिधीले ज्ञापन पत्र बुझाएका छन भने कडा कानुनी कारबाहीको माग गरेको छ।

































