
कैलालीको गोदावरी नगरपालिका–२ स्थित एभरेष्ट एकेडेमीमा २०औँ वार्षिकोत्सव तथा अभिभावक दिवस औपचारिक रूपमा सुरु भएको छ। दुई दिनसम्म सञ्चालन हुने कार्यक्रमको उद्घाटन सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान का उपकुलपति डाक्टर टि एन जोशी ले एक विशेष समारोहका बीच गरेका हुन्।

उद्घाटन समारोहमा विद्यालय परिवार, अभिभावक तथा स्थानीय सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथिले विद्यालयले शैक्षिक गुणस्तर र अनुशासनका माध्यमबाट क्षेत्रमै पहिचान स्थापित गरेको उल्लेख गरे। उनले विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
वार्षिकोत्सवअन्तर्गत विद्यार्थीहरूले नृत्य, गीत, कविता वाचन तथा विविध सिर्जनात्मक प्रस्तुति मार्फत आफ्नो क्षमता प्रदर्शन गरेका छन्। रंगीन सांस्कृतिक कार्यक्रमले विद्यालय परिसर उत्साहमय बनेको थियो।
सो अवसरमा शैक्षिक, अतिरिक्त क्रियाकलाप तथा अनुशासनका क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार वितरण गरिएको विद्यालय प्रशासनले जनाएको छ।
अभिभावक र विद्यार्थीबीचको सम्बन्ध अझ सुदृढ बनाउने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रमले विद्यालयको समग्र विकास र शैक्षिक प्रतिबद्धतालाई पुनः उजागर गरेको छ।





























