
कैलालीको गोदावरी–३ स्थित खप्तड विद्या निकेतन ले बुधबार आफ्नो २२औँ वार्षिकोत्सव तथा अभिभावक दिवस औपचारिक कार्यक्रमसहित मनाएको छ। कार्यक्रमको सभापतित्व विद्यालयका सञ्चालक श्याम खत्री ले गरेका थिए भने प्रमुख अतिथिका रूपमा दुर्गालक्ष्मी बहुमुखी क्याम्पस का क्याम्पस प्रमुख डा. नरेन्द्र बहादुर ऐर उपस्थित थिए।

कार्यक्रममा शिक्षक, अभिभावक, विद्यार्थी र विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। विद्यार्थीहरूले नृत्य, गीत, कविता र अन्य सांस्कृतिक प्रस्तुति मार्फत आफ्नो प्रतिभा प्रदर्शन गरे।
विद्यालयले शिक्षा, कृषि र समाजसेवामा योगदान पुर्याएका व्यक्तिहरूलाई शिक्षा सेवा सम्मान, कृषि सेवा सम्मान प्रदान गरेको थियो। उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थी र असल अभिभावकहरूलाई पनि सम्मान गरिएको छ।
कक्षा १० सम्म शिक्षण दिने विद्यालयमा करिब १,००० विद्यार्थी अध्ययनरत छन्। कार्यक्रम अन्तर्गत विभिन्न खेलकुद र अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो। कार्यक्रममा कार्यक्रम सञ्चालन शिक्षक भुवन भट्ट ले गरेका थिए।
समारोहले विद्यालय समुदायमा शिक्षा, प्रतिभा र अभिभावकत्वको महत्वलाई अझ सशक्त रूपमा प्रस्तुत गरेको छ।





























