कैलाली -४ मा उम्मेदवार लेखराज भट्टद्वारा समग्र विकासका लागि प्रतिबद्धता पत्र सार्वजनिक

Image
Nisarga Hospital

अत्तरियाः प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. ४, कैलालीका एमाले उम्मेदवार लेखराज भट्टले विहिवार आफ्नै निवासमा पत्रकार सम्मेलनमार्फत आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्। उनले शिक्षा, स्वास्थ्य, कृषि, औद्योगिकीकरण, पर्यटन प्रवद्र्धन र भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेका छन्। प्रतिबद्धता पत्रमा सुदूरपश्चिम प्रदेश र कैलाली जिल्लाको समग्र विकासका लागि विशेष योजना अघि सारिएको उल्लेख छ।

CP Hospital Dhangadhi

शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा, प्रविधिमैत्री शिक्षण प्रणाली र आवश्यक भौतिक पूर्वाधार निर्माण गर्ने प्रतिबद्धता जनाइएको छ। शिक्षक तथा कर्मचारीको सेवा–सुविधा सुधार, पेशागत सुरक्षा र सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने पहल समावेश गरिएको छ। स्वास्थ्य क्षेत्रमा आधारभूत स्वास्थ्य केन्द्र र शहरी स्वास्थ्य क्लिनिकमा विशेषज्ञ सेवा विस्तार, जनशक्ति र उपकरण व्यवस्थापनमा जोड दिइने बताइएको छ। महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई लक्षित गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने र स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बनाउने योजना पनि अघि राखिएको छ।

कृषि क्षेत्रका लागि आधुनिक प्रविधि, उन्नत बीउ, मल, यान्त्रिकीकरण, सिँचाइ सुविधा विस्तार, कृषि बीमा र कृषि आधारित उद्योग स्थापना गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ। तरकारी, फलफूल र स्थानीय उत्पादनको संरक्षण तथा प्रवद्र्धनका लागि शीत भण्डार र बजार व्यवस्थापनमा पहल गरिने जनाइएको छ।

औद्योगिकीकरण र रोजगारी सिर्जनामा औद्योगिक क्षेत्र विस्तार, औद्योगिक कोरिडोर विकास र सीपमूलक तालिम सञ्चालन गरी दलित, पिछडिएका र गरिबी रेखामुनि रहेका नागरिकलाई आत्मनिर्भर बनाउने योजना समावेश गरिएको छ।

धर्म, संस्कृति र पर्यटन प्रवद्र्धनतर्फ धार्मिक स्थल, सांस्कृतिक सम्पदा संरक्षण, संग्रहालय स्थापना र होमस्टे प्रवद्र्धनमा जोड दिइने छ। भौतिक पूर्वाधारमा सडक, पुल, तटबन्ध, विद्युतीकरण र खानेपानी व्यवस्थापनमा पनि ध्यान दिइने प्रतिबद्धता जनाइएको छ।

भट्टले विकास, स्थायित्व र समृद्धिका लागि पुनः निर्वाचित हुन मतदातासँग अपिल गर्दै आफ्नो प्रतिबद्धता कार्यान्वयनमा ल्याउने दाबी गरेका छन्।