
सपनामा पनि म जसलाई भुलाउन सकिन,
भुल्नकै लागि यो मनलाई फकाउन सकिन।

हुनेनै थिएन मिलाप मनको मात्र बिलाप हो,
त्यति बलियो साईनो पनि लगाउन सकिन।
दुश्मनले पनि कहां सक्छ पगाल्न मन मुटू,
मित्र थियो रत मुटु मै पुग्दा समाउन सकिन।

आखाकै बाटोबाट हृदयमा पुगेको कुनैबेला,
झसङ्ग भएं म आजै हेक्कानै पाउन सकिन।
हिमालको चिसो बताससङ्गै मिसायो मनमा,
राखे अधर आंखाभित्र तर सझाउन सकिन।
म साहेद थिएं प्रेमको भोको बालपन देखि,
प्रितको त्यो अनौठो घाउले अघाउन सकिन।
॥१॥
आफ्नो हुंदैन त्यो जो दुश्मनको बफादार हुनखोज्छ,
साख्खै दाईले भाई लुट्छ आफू साहुकार हुनखोज्छ।
बा आमाले पसिना पोखे र खाई नखाई जोगाएको,
त्यसैमा आज भाई दाईको दिनौं तकरार हुनखोज्छ।
हेर त माझिले कयौंलाई तार्यो समुन्दर र आफू डुब्यो,
जिन्दगी सबैको जिउने मर्ने एउटा आधार हुनखोज्छ।
बा बा आमाहरूले बर पिपल लगाउंथे धर्मको नाउमा,
अचेल छोरा उनैको संझना ढाल्ने औजार हुनखोज्छ।
आउने पिडिले मुल्यङ्कन् गर्छ क्रान्ति वा भ्रन्ति भयो,
झन् पछि झन् देशभित्र नयां नयां औतार हुनखोज्छ।
यो देश आत्मनिर्भर हुनसकिन कुन्नी किनहोला यस्तो,
आज चन्द्रमाको चारैतिर यही सारा संसार हुनखोज्छ।
॥२॥

सुख्खको प्रखाईमा दु:खको आधार बोकेर,
आउँछ की केथाह नयाँ वर्ष चमत्कार बोकेर।
आस त गर्नैपर्छ साथि हामि आसावादीनै हौं,
स्वागत गर्छौँ आउंछ की यो वर्ष प्यार बोकेर।
बालखनै थियौं देश परिवर्तनको बाटो छोप्दा,
लड्दै छौं अंझै चाउरी परेको अनुहार बोकेर।
एक दिन त अवश्य आउंछ सुदिन हाम्रै पनि,
कुनैदिन भाग्छन् बोरी बिस्तर ति जार बोकेर।
रगत खुब बगायौं आरन लगायौं गिट्टी कुट्यौं,
आजपनि श्रमजीविनै दौडेकैछ संसार बोकेर।
चुनावका कुरा छाडौं यथार्थमा हाम्रै जित हो,
आउँछन् नयां साल शङ्घर्षकै रफ्तार बोकेर।
॥३॥
सोचि सम्झि आ आफ्ना पाइला चाले राम्रो हुन्थ्यो
हाम्रो एकताले दुश्मनकै किल्ला ढाले राम्रो हुन्थ्यो।
साम्राज्यवादको हालिमुहाली हुनथालेकै छ देशमा,
देशभक्तको एकताले दुश्मननै पखाले राम्रो हुन्थ्यो।
युवाहरू जाग उठ जुट अब आफ्नै देश जोगाउन,
अन्धकार मेटाउन एउटा मसाल बाले राम्रो हुन्थ्यो।
अनिकाल देशमा देशभक्तको तर दलाल जताततै,
यिनै दलालहरूलाई यो देशबाट फाले राम्रो हुन्थ्यो।
डुब्न थालेको छ दलदलमा कुरिती र कुसंस्कारमा,
डुब्न थालेको देशलाई बाहिर निकाले राम्रो हुन्थ्यो।
शान्ति सु ब्यवस्था चाहिएको छ भने नागरिकलाई,
कुसंस्कार भ्रष्टाचार सबै मिली खंगाले राम्रो हुन्थ्यो।
सुरेशकुमार पाण्डे दाङ घोराही १८




























