
मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ। यसको असरले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली देखिएको छ।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा साधारण बदली रहनेछ भने केही स्थानमा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा पनि एक–दुई स्थानमा वर्षा–हिमपात हुन सक्ने अनुमान गरिएको छ।

तराई क्षेत्र विशेषगरी मधेस, लुम्बिनी र सुदूरपश्चिममा तातो दिन रहने सम्भावना छ। राति कोशी र गण्डकीका उच्च पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहँदा बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। महाशाखाले मौसम परिवर्तनसँगै सतर्कता अपनाउन आग्रह गरेको छ।






























