
नेकपा एमालेका पूर्व सभासद तथा संविधानसभा सदस्य कर्णबहादुर मल्ल पक्राउ परेका छन्। मुगुको सोरु गाउँपालिका–१० घर भई हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका–७ बस्दै आएका ५२ वर्षीय मल्ललाई शनिबार प्रहरीले पक्राउ गरेको हो।

ललितपुर महानगरपालिका–१५ बाट उनलाई नियन्त्रणमा लिइएको ललितपुरका एसएसपी होबिन्द्र बोगटीले जानकारी दिए। मल्लविरुद्ध एक महिलाले बलात्कारको आरोप लगाउँदै उजुरी दिएकी थिइन्। सोही उजुरीका आधारमा जिल्ला प्रहरी परिसर ललितपुर र सातदोबाटो प्रहरी वृत्तको टोलीले उनलाई पक्राउ गरेको हो।

पीडित महिलाले फागुन ५ गते प्रहरीमा उजुरी दिएकी थिइन्। उनी केही समयअघि माइतीघरमा अनशनसमेत बसेकी थिइन्। प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ।






























