
इरानले अमेरिका–इजरायलसँगको युद्धविराम अवधिभर होर्मुज जलडमरूमध्यलाई व्यावसायिक जहाजका लागि ‘पूर्ण रूपमा खुला’ गर्ने घोषणा गरेपछि विश्व बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा घटेको छ।

इरानी विदेशमन्त्री अब्बास अराघचीका अनुसार युद्धविराम अवधिमा सबै व्यावसायिक जहाजहरूको आवागमन निर्बाध रहनेछ। यस घोषणापछि विश्वको करिब पाँचौं भाग तेल र ग्यास ढुवानी हुने रणनीतिक जलमार्गमा स्थिरता आउने अपेक्षा गरिएको छ।
घोषणापछि ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ४८८ मा झरेको छ, जुन अघिल्लो दिन ४९८ भन्दा माथि थियो। यसले अन्तर्राष्ट्रिय बजारमा तत्काल सकारात्मक प्रभाव पारेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको निर्णयलाई स्वागत गरेका छन्।


विश्वका प्रमुख शेयर बजारहरूमा पनि वृद्धि देखिएको छ। अमेरिकी प्रमुख सूचकांक १.२ प्रतिशतले बढेको छ भने पेरिस र फ्रान्कफर्टका बजार करिब २ प्रतिशतले उकालो लागेका छन्। लन्डन बजार ०.७ प्रतिशतले बढेर बन्द भएको छ।
यसअघि अमेरिका–इजरायल आक्रमणपछि इरानले होर्मुज बन्द गरेपछि तेल आपूर्ति प्रभावित भई मूल्य तीव्र रूपमा बढेको थियो। तर पछिल्लो निर्णयसँगै आपूर्ति सहज हुने अपेक्षाले बजार स्थिरतामा सुधार आएको विश्लेषकहरूले बताएका छन्।





























