
नेपालको आपत्तिलाई बेवास्ता गर्दै भारतले नेपाली भूमि लिपुलेक मार्ग प्रयोग गरी कैलाश मानसरोवर तीर्थयात्रा सञ्चालन गर्ने तयारी अघि बढाएको छ।

भारतको विदेश मन्त्रालयका अनुसार २०२६ जुनदेखि अगस्टसम्म यात्रा सञ्चालन हुनेछ। विदेशमन्त्री एस. जयशंकरले ‘कम्प्युटराइज्ड ड्र’ मार्फत १ हजार तीर्थयात्री छनोट गरिएको घोषणा गरेका छन्। ती यात्रुहरूलाई ५०–५० जनाका २० समूहमा विभाजन गरी यात्रा गराइनेछ।
यात्रा लिपुलेक र नाथुला भन्ज्याङ दुवै मार्गबाट हुनेछ। लिपुलेक मार्गबाट करिब २२ दिन र नाथुला मार्गबाट २१ दिन लाग्ने बताइएको छ। लिपुलेक मार्गको लागत करिब २ लाख ९ हजार र नाथुला मार्गको ३ लाख ३१ हजार भारतीय रुपैयाँ तोकिएको छ।


पहिलो समूहको यात्रा ३० जुनदेखि सुरु हुनेछ। दिल्लीमा स्वास्थ्य जाँच, भिसा प्रक्रिया र ब्रिफिङपछि यात्रुहरू ४ जुलाईमा प्रस्थान गर्नेछन्। त्यसपछि टनकपुर, धार्चुला, गुञ्जी, कालापानी हुँदै नाभीढांग पुगेर १० जुलाईमा लिपुलेक पास हुँदै तिब्बत प्रवेश गर्ने कार्यक्रम छ।
लिपुलेक पास समुद्री सतहदेखि करिब १६ हजार ७ सय फिट उचाइमा रहेको उल्लेख छ। त्यहाँबाट यात्रुहरू तिब्बतको ताक्लाकोट हुँदै अगाडि बढ्नेछन्।
लिपुलेक क्षेत्र लिम्पियाधुराबाट करिब ५६ किलोमिटर नेपाली भूमिभित्र पर्ने स्थान हो। नेपालले उक्त क्षेत्रलाई आफ्नो सार्वभौम भूभाग दाबी गर्दै आए पनि भारत र चीनले त्यसलाई प्रयोगमा ल्याउँदै आएका छन्। नेपालको निरन्तर आपत्ति र विरोधका बीच पनि यात्रा कार्यक्रम अघि बढाइएपछि कूटनीतिक तनाव पुनः चर्किएको छ।
































