
काठमाडौँ: सरकारले बालश्रम निवारण र श्रम मर्यादाको क्षेत्रमा उल्लेखनीय कार्य गर्ने स्थानीय तह तथा औद्योगिक प्रतिष्ठानहरूलाई एक विशेष समारोहका बिच सम्मान गरेको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयद्वारा आयोजित ‘बालश्रममुक्त स्थानीय तह घोषणा तथा सम्मान कार्यक्रममा बालश्रममुक्त मापदण्ड पूरा गर्ने १३ वटा स्थानीय तह लाई सम्मान तथा प्रमाणपत्र वितरण गरिएको हो।

आजका यी तीन घोषणा सतहमा हेर्दा फरक देखिन सक्छन्, तर यी सबैलाई जोड्ने साझा सिद्धान्त एउटै छ, श्रमको सम्मान।
युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले कार्यक्रममा बोल्दै “जब हरेक श्रमिकले आफू सुरक्षित भएको अनुभूति गर्छ, जब हरेक बालबालिका विद्यालयमा हुन्छन्, जब हरेक रोजगारदाताले कानुनको सम्मान गर्छ, र जब हरेक युवाले आफ्नो भविष्य स्वदेशमै निर्माण गर्न सकिन्छ भन्ने विश्वास गर्छ, त्यति बेला मात्र राष्ट्र बलियो बन्ने बताउनुभयो।”

कार्यक्रममा आफ्ना भूगोललाई बालश्रममुक्त बनाउने यी १३ स्थानीय तहको प्रशंसा गर्दै गर्दै अन्य स्थानीय तहले छिटो भन्दा छिटो पालना गर्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो “बालबालिका काममा हुनु हुँदैन उनीहरू खेलमैदानमा हुनुपर्छ, उनीहरू विद्यालयमा हुनुपर्छ, आज त केवल १३ वटा पालिकाले यो सम्मान पाइरहेका छन् , सङ्ख्या पर्याप्त छैन, सबै स्थानीय तहले यसलाई पालना गर्नुपर्छ ।”
यस कार्यका लागि सरकारले स्थानीय तहलाई प्रोत्साहन स्वरूप ३ लाख र घोषणा पश्चात् थप २ लाख रुपैयाँ अनुदान दिने व्यवस्था गरेको छ।

यसै गरी, श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले व्यवसायजन्य सुरक्षा र स्वास्थ्यको क्षेत्रमा उत्कृष्ट कार्य गर्ने ६ वटा औद्योगिक प्रतिष्ठान हरूलाई पनि सम्मान गरेको छ। २२ वटा सूचकहरूको आधारमा छनोट गरिएका ती प्रतिष्ठानहरूमा कैलालीको नवजीवन अस्पताल, पूर्वी नवलपरासीको होङ्सी शिवम् सिमेन्ट, रुपन्देहीको अम्बे स्टिल, हेटौँडाको एसियन पेन्ट्स, सिराहाको मारुती सिमेन्ट र सुनसरीको मैनावती स्टिल इन्डस्ट्रीज रहेका छन्। आवेदन नपरेका कारण कर्णाली प्रदेशबाट भने कुनै पनि प्रतिष्ठान छनोट हुन सकेनन्।
यस विषयलाई सम्बोधन गर्दै मन्त्री यादवले नेपालमा जिम्मेवार व्यवसाय सम्भव छ भन्ने देखाइरहेको बताउनु भएको छ। उहाँले भन्नुभयो “श्रमिकहरू सुरक्षित, सम्मानित र उत्साहित हुँदा उत्पादन बढ्छ भन्ने प्रमाणित गरिरहनुभएको छ। वैदेशिक र आन्तरिक दुवै श्रम बजारमा हामी जिम्मेवार व्यवसायलाई प्रवर्द्धन गर्नेछौँ।”
यसै अवसरमा वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै उद्यम गरी अर्थतन्त्रमा योगदान पुऱ्याउने ७ जना उद्यमीहरूलाई ‘राष्ट्रिय उद्यमी पुरस्कार’ बाट सम्मानित गरिएको छ।
७१ जना आवेदकहरू मध्येबाट रोजगारी सिर्जना, पुँजी लगानी र स्थानीय स्रोतको प्रयोग जस्ता सूचकका आधारमा उनीहरूलाई छनोट गरिएको हो। छनोट भएका मध्ये उत्कृष्टलाई एकलाख ५० हजार र अन्यलाई ७५/७५ हजार पुरस्कार राशि प्रदान गरिएको छ।
वैदेशिक रोजगारीमा गई सिप सिकेर फर्केर रोजगारी सिर्जना गरेकाहरूलाई सम्मान गर्दै मन्त्री यादवले भन्नुभयो “हामी ती वैदेशिक रोजगारीबाट फर्किएर उद्यम सुरु गरेकाहरूलाई सम्मान गर्दछौँ, जो रोजगारी खोज्दै विदेश जानुभयो र स्वदेश फर्किएर रोजगारी सिर्जना गर्ने उद्यमी बन्नुभयो।”
यस्ता कार्यक्रमले अन्य स्थानीय तह र निजी क्षेत्रलाई पनि बालश्रम अन्त्य गर्न र सुरक्षित कार्यस्थल निर्माण गर्न प्रेरणा दिने विश्वास मन्त्रालयले लिएको छ।































