
दुई हात जोडी नमस्कार छ उपस्थित सबैलाई,
फूल छरेर स्वागत गर्छौं यहाँ आएका जतिलाई।
उच्च शिक्षा दिने गुरु, सारा बालबालिकाको भावना,
नारी पर्व तीजको छ ,है हार्दिक शुभकामना॥

गीत गाउन आएका छौं विद्यालयको प्राङ्गणमा,
देशभित्रका विसङ्गति देखाउनलाई यो क्षणमा।
जताततै अशान्ति र अराजकता छाएको छ,
शान्तिप्रिय देश हाम्रो कता-कता हराएको छ॥
नेता अनि कर्मचारी भ्रष्टाचारमा लिप्त भए,
जनतालाई लुटी-लुटी आफ्नै पेट भर्ने भए।
योग्य अनि सत्य निष्ठ युवाहरू विदेश तिर गए,
देश बनाउने हातहरू अरबतिर गए॥

दिनदिनै बलात्कारका खबरहरू आएका छन्,
न्याय दिने व्यक्तिहरू मौन भई बसेका छन्।
साना-साना नानीहरू विकृतिमा लागेका छन्,
सभ्यता र संस्कृतिलाई भुल्दै-भुल्दै गएका छन्॥

स्वास्थ्य अनि शिक्षा क्षेत्र सबैतिर लुटिएछ,
देश विकास गर्ने रकम बीचैमा नै मासिएछ।
यस्तै तालले कसरी होला देशको विकास हजुर?
अब त उठ्नैपर्छ हामी सबै मिलि हजुर॥
हामी आफैं अघि बढी देशलाई बनाउनु छ,
देशद्रोही, भ्रष्टाचारी सबैलाई फाल्नु छ।
हातमा हात समाउँदै अधिकारका लागि लड्छौं,
कर्तव्य र अधिकारको चेतना हामी भर्छौं॥
हे भगवान! जनताको पुकार अब सुनिदेऊ,
भ्रष्टाचार मुक्त देश बनाउने आशिष देऊ।
समृद्धि र शान्तिको रहोस् सधैंकामना,
पुनः एकपटक सबैलाई तीजको शुभकामना॥
रचयिता / प्रस्तुतकर्ता:
श्री महाकाली माध्यमिक विद्यालय
कृष्णपुर नगरपालिका ६ कञ्चनपुर
आर्जु देउवा
जयन्ती लावड
प्रमिला बि.क.
रूपा चुनारा






























