दार्चुलाको मडगाउँमा जमिन धसिँदा २५ परिवार विस्थापित, पुनःस्थापनाको माग

Image
Nisarga Hospital

दार्चुलाको व्यास गाउँपालिका–४ मडगाउँस्थित खर्क, पन्ताली र गुम्पानी बस्तीमा जमिन निरन्तर धसिँदा स्थानीय विस्थापित भएका छन्। प्रभावित बस्तीको पुनःस्थापनाको माग गर्दै गाउँपालिका र स्थानीयवासीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टलाई ज्ञापनपत्र बुझाएका छन्।

CP Hospital Dhangadhi

गाउँपालिकाका उपाध्यक्ष विनोदसिंह कुँवरका अनुसार जमिन धसिँदै गएपछि खर्क बस्ती पूर्ण रूपमा विस्थापित भएको छ। उक्त बस्तीमा रहेका २५ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। गाउँपालिकाका अध्यक्ष मङ्गलसिंह धामीका अनुसार बस्तीका अधिकांश घर चर्किएपछि थप जोखिम बढेको हो।

अध्यक्ष धामीका अनुसार खर्क बस्तीका १८ घर पूर्ण रूपमा चर्किएका छन् भने १० घर भत्किएका छन्। विस्थापित परिवारलाई तत्कालका लागि गाउँपालिकाले टेन्टको व्यवस्था गरी सुरक्षित स्थानमा राखेको छ। केही घरबाट अन्नपातसमेत निकाल्न नसक्दा प्रभावित परिवारमा खाद्यान्नको समस्या देखिएको छ।

nawajiwan
Attariya Hospital

ज्ञापनपत्रमार्फत जमिन भासिएको क्षेत्रमा तत्काल प्राविधिक तथा भौगर्भिक अध्ययन गरी जोखिमको अवस्था पहिचान गर्न माग गरिएको छ। साथै, प्रभावित परिवारको क्षतिको विस्तृत मूल्याङ्कन गरी सुरक्षित स्थानमा पुनःस्थापना तथा जमिन र बस्ती संरक्षणका लागि आवश्यक सहयोग उपलब्ध गराउन प्रदेश सरकारसँग आग्रह गरिएको छ।

अध्यक्ष धामीले जमिन धसिने क्रम अझै नरोकिएको बताएका छन्। यसले बस्तीका अन्य घर तथा परिवारसमेत जोखिममा पर्न सक्ने अवस्था रहेको स्थानीयको भनाइ छ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले सुरक्षित बस्ती व्यवस्थापनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई समेत जानकारी गराइएको बताए। गाउँपालिकाले क्षतिको विवरण र प्रभावित परिवारको तथ्याङ्क सङ्कलनसमेत थालेको छ।