‎सुदूरपश्चिमेली नेपाली समाज मलेसियाद्वारा मृगौला पीडित गणेश साउदलाई २३ हजार बढी सहयोग

Image
Nisarga Hospital

मलेसिया:

CP Hospital Dhangadhi

प्रवासमा रहेर पनि आफ्नो जन्मभूमि र दुःखमा परेका नेपालीप्रतिको सामाजिक उत्तरदायित्व निर्वाह गर्दै सुदूरपश्चिमेली नेपाली समाज मलेसियाले मृगौला रोगबाट पीडित ३२ वर्षीय गणेश साउदलाई आर्थिक सहयोग गरेको छ ।
‎
‎बैतडी जिल्लाको पुर्चौडी नगरपालिका –६, भुमिराज निवासी साउद मृगौला रोगबाट पीडित भई उपचाररत छन् । उनको उपचारमा केही भए पनि राहत पुगोस् भन्ने उद्देश्यले समाजले आर्थिक सहयोग उपलब्ध गराएको हो ।
‎
‎समाजले उपलब्ध गराएको विवरणअनुसार मलेसियाबाट ६३० मलेसियन रिंगिट (MYR) पठाइएको छ । सेवा शुल्कसहित कुल ६४० रिंगिट जम्मा गरिएको उक्त रकम विनिमय दरअनुसार नेपाली २३ हजार ३४१ रुपैयाँ ५० पैसा बराबर रहेको छ । उक्त रकम पीडित गणेश साउदका आफन्त मोहन सिंह साउदको ग्लोबल आइएमई बैंक खातामा पठाइएको सुदूरपश्चिमेली नेपाली समाज मलेसियाका केन्द्रीय सचिव रमेश सिंह ऐरले जानकारी दिनुभयो ।
‎
‎‘प्रवासमा रहे पनि आफ्ना नागरिकको दुःखमा साथ दिनु हाम्रो मानवीय दायित्व हो’ भन्ने भावनाका साथ समाजले सहयोगको हात अघि बढाएको समाजका केन्द्रीय सचिव ऐरले जानकारी दिनुभयो । उहाँका अनुसार दुःख, पीडा र समस्यामा परेका नेपालीलाई सक्दो सहयोग गर्नु समाजको सामाजिक सेवाप्रतिको प्रतिबद्धता हो ।
‎
‎त्यसैगरी, सुदूरपश्चिमेली नेपाली समाज मलेसियाको जोहोर क्षेत्रीय समितिका अध्यक्ष लक्ष्मण साउदले पीडितका आफन्तको बैंक खातामा सहयोग रकम पठाइएको जानकारी दिनुभयो । उहाँले प्रवासमा रहेर पनि आफ्नो क्षेत्रका नागरिकको पीडामा साथ दिन पाउनु मानवीय सेवाको महत्वपूर्ण पक्ष भएको बताउनुभयो ।
‎
‎मृगौला रोगजस्तो गम्भीर स्वास्थ्य समस्याबाट गुज्रिरहेका गणेश साउदको उपचारमा आर्थिक सहयोगले केही राहत पुग्ने अपेक्षा गरिएको छ । समाजले उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारका लागि आवश्यक सहयोग जुटाउन सबै सहयोगी मनहरूलाई मानवीय भावनाका साथ अघि बढ्न आग्रह गरेको छ ।
‎
‎साथै, यस अभियानमा साथ र सहयोग पुर्‍याउने सम्पूर्ण सहयोगी मनहरूप्रति समाजले हार्दिक आभार व्यक्त गरेको छ । समाजले आगामी दिनमा पनि आफ्नो क्षमता र स्रोतअनुसार दुःख, पीडा तथा समस्यामा परेका नेपालीहरूलाई सहयोग गर्दै सामाजिक सेवाका कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
‎
‎प्रवासमा रहेर पनि मातृभूमि र आफ्ना नागरिकप्रतिको माया, आत्मीयता र मानवीय संवेदना कायम राख्दै गरिएको यस सहयोगले सामाजिक एकता र परोपकारी भावनाको सुन्दर उदाहरण प्रस्तुत गरेको छ ।

तस्बिर: मृगौला रोगबाट पीडित ३२ वर्षीय गणेश साउद
तस्बिर: मृगौला रोगबाट पीडित ३२ वर्षीय गणेश साउद

‎