
धनगढी: कैलालीको धनगढीस्थित चटकपुरमा अस्पतालकै स्वामित्वमा रहेको क्यान्टिन रातभरि सञ्चालन हुने गरेको भन्दै स्थानीयवासीले प्रहरी प्रशासनको कार्यक्षमतामाथि गम्भीर प्रश्न उठाएका छन्। धनगढीमा राति १० बजेपछि होटल तथा पसल बन्द गराउने प्रहरी प्रशासनको निर्देशन रहे पनि अस्पतालअगाडिको उक्त क्यान्टिन भने रातभरि खुला रहने गरेको स्थानीयको गुनासो छ।

सबैभन्दा गम्भीर विषय अस्पतालकै क्यान्टिन सञ्चालन भइरहँदा त्यही अस्पतालले चटकपुर प्रहरी बिटका कर्मचारीलाई बस्नका लागि कोठा उपलब्ध गराएको तथ्य हो। एकातिर प्रहरी बिट अस्पतालकै परिसरमा उपलब्ध गराइएको कोठामा सञ्चालन भइरहेको छ भने अर्कोतिर त्यही अस्पतालको क्यान्टिन रातभरि खुला रहने गरेको स्थानीयको आरोप छ।
यसले प्रहरी र अस्पतालबीचको संस्थागत सम्बन्धका कारण क्यान्टिनमाथि निगरानी तथा कारबाही प्रभावित भएको हो कि भन्ने प्रश्न जन्माएको छ। प्रहरी बिटले अस्पतालसँग सम्बन्धित विषयमा निष्पक्ष रूपमा काम गरिरहेको छ कि छैन भन्ने विषयमा समेत स्थानीयले जवाफ मागेका छन्।
स्थानीयका अनुसार उक्त क्यान्टिनमा राति १० बजेपछि पनि चुरोटलगायत विभिन्न सामग्री बिक्री हुने गरेको छ। रातभरि मानिसहरूको जमघट हुने र झैझगडा तथा विवादसमेत हुने गरेको गुनासो छ। अस्पतालजस्तो संवेदनशील क्षेत्रको अगाडि रातभरि यस्तो गतिविधि भइरहँदा प्रहरी प्रशासनले किन प्रभावकारी निगरानी गर्न सकिरहेको छैन?
यो विषय प्रहरी प्रशासनका लागि नयाँ पनि होइन। स्थानीयको दाबीअनुसार जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी नरेन्द्र चन्दलाई करिब १० पटक, सम्बन्धित डीएसपीलाई पाँच पटक र वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलराम पाण्डेलाई करिब २० पटकसम्म जानकारी गराइसकिएको छ।
यति धेरैपटक गुनासो पुग्दा पनि क्यान्टिनको सञ्चालन समय र रातिको गतिविधिमा परिवर्तन नआएको स्थानीयको भनाइ छ।
आखिर एउटा क्यान्टिनको विषयमा प्रहरी प्रशासन किन यति कमजोर देखिएको छ?
अन्य व्यवसायीलाई राति १० बजेपछि पसल बन्द गराउने प्रहरी प्रशासनले अस्पतालकै क्यान्टिनको हकमा किन समान नियम लागू गर्न सक्दैन? अस्पतालले प्रहरी बिटलाई बस्ने कोठा उपलब्ध गराएको कारण प्रहरीको निगरानी र कारबाहीमा कुनै प्रभाव परेको छ कि छैन? यदि प्रभाव परेको छैन भने पटक–पटकको गुनासोपछि पनि समस्या समाधान किन भएन?
यी प्रश्नको जवाफ जिल्ला प्रहरी कार्यालय कैलालीले दिनुपर्ने भएको छ।
अस्पतालले प्रहरीलाई कोठा उपलब्ध गराउनु आफ्नो व्यवस्थापकीय निर्णय हुन सक्छ। तर त्यसले प्रहरीको निष्पक्षता, स्वतन्त्रता र कानुनी जिम्मेवारीमाथि प्रश्न उठ्ने अवस्था आउनु हुँदैन। प्रहरी कुनै पनि संस्था वा व्यक्तिप्रति जवाफदेही हुनुभन्दा कानुन र नागरिकको सुरक्षाप्रति जवाफदेही हुनुपर्छ।
स्थानीयले अब मौखिक आश्वासन होइन, प्रत्यक्ष अनुगमन र ठोस कारबाही माग गरेका छन्। क्यान्टिन रातभरि सञ्चालन गर्न पाउने अनुमति छ कि छैन? सञ्चालन समय निर्धारण कसले गरेको हो? रातिको समयमा बिक्री हुने सामग्री तथा गतिविधिको नियमन कसले गर्छ? प्रहरी बिट अस्पतालकै कोठामा रहेकाले अनुगमनमा कुनै स्वार्थको द्वन्द्व उत्पन्न भएको छ कि छैन?
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी नरेन्द्र चन्द, सम्बन्धित डीएसपी, वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलराम पाण्डे तथा अस्पताल प्रशासनले यस विषयमा सार्वजनिक रूपमा स्पष्ट पार्न सफल आवश्यक छ।
प्रहरी बिट राखिएको छ नागरिकको सुरक्षा र शान्तिका लागि, कुनै संस्थाको असहज प्रश्नबाट टाढा रहनका लागि होइन। प्रहरीलाई कोठा उपलब्ध गराउने संस्थाकै क्यान्टिन रातभरि सञ्चालन हुँदा पनि प्रहरी मौन देखिनु आफैँमा गम्भीर सार्वजनिक चासोको विषय हो।
अब चटकपुरवासीको प्रश्न एउटै छ—नियम सबैका लागि समान हो भने अस्पतालकै क्यान्टिनमा किन लागू हुँदैन? प्रहरी प्रशासनले यो प्रश्नको जवाफ दिन्छ कि फेरि पनि मौन बस्छ?






























