
डोटी: चोरी मुद्दामा अदालतबाट दोषी ठहर भई लामो समयदेखि फरार रहेका एक व्यक्तिलाई डोटी प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार शिखर नगरपालिका–१ कफललेखी सेरी निवासी ५० वर्षीय बाजी भुललाई सोमबार राति ११ः३० बजे आफ्नै घरबाट पक्राउ गरिएको हो।
भुललाई जिल्ला अदालत डोटीले २०७५ मङ्सिर १३ गते रहजनी चोरी मुद्दामा दोषी ठहर गर्दै २ लाख ५३ हजार १८० रुपैयाँ जरिवाना र दुई महिना कैद सजाय सुनाएको थियो। अदालतको फैसलापछि उनी सजाय भुक्तान नगरी फरार रहँदै आएका थिए।
लामो समयदेखि फरार रहेका भुललाई जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा पक्राउ गरेको हो।
पक्राउ परेका भुललाई आवश्यक कानुनी कारबाही तथा फैसला कार्यान्वयनका लागि जिल्ला अदालत डोटीमा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका डीएसपी रणबहादुर चन्दले जानकारी दिएका छन्।






























