डिकवेलाको विस्फोटक अर्धशतकमा लुम्बिनी फाइनलमा, सुदूरपश्चिम ६ विकेटले पराजित

Image
Nisarga Hospital

निरोशन डिकवेलाको उत्कृष्ट अर्धशतकको मद्दतमा साविक विजेता लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनलमा स्थान पक्का गरेको छ।

CP Hospital Dhangadhi

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको पहिलो क्वालिफायरमा सुदूरपश्चिमले दिएको १०६ रनको लक्ष्य लुम्बिनीले १४.२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो। लुम्बिनी लगातार दोस्रो पटक फाइनल पुगेको हो भने उपाधि रक्षा गर्ने अभियानमा एक कदम नजिक पुगेको छ।

लुम्बिनीको जितमा डिकवेलाले ३७ बलमा ७ चौका र २ छक्कासहित अविजित ५९ रन बनाए। कप्तान रोहित पौडेलले २१ रनको योगदान दिए। डिकवेला र रोहितले तेस्रो विकेटका लागि ३८ रनको महत्वपूर्ण साझेदारी गरेका थिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०५ रन बनाएको थियो। उसका कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५२ तथा इशान पाण्डेले २७ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

लुम्बिनीका रुबेन ट्रम्पलम्यान र शेर मल्लले २–२ विकेट लिए। किशोर महतो र अभिषेक गौतमले १–१ विकेट लिए।

पहिलो क्वालिफायरमा पराजित भए पनि सुदूरपश्चिमको फाइनल पुग्ने सम्भावना कायमै छ। उसले बुधबार हुने काठमाडौं गोर्खाज र चितवन राइनोजबीचको एलिमिनेटर विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ। लगातार दोस्रो पटक फाइनल पुगेको लुम्बिनी भने उपाधि रक्षा गर्ने लक्ष्यसहित मैदानमा उत्रनेछ।