
अत्तरिया : कैलालीको अत्तरियामा भोलिदेखि सुरु हुने स्वास्थ्य युवा महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ। सर्वसाधारणलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने तथा स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गर्न लागिएको महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ।

गोदावरी नगरपालिका–२, तेघरीस्थित पार्टनर प्यालेसमा सञ्चालन हुने महोत्सवको उद्घाटन भोलि बिहान ८ः३० बजे सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले गर्ने कार्यक्रम तय भएको छ।
महोत्सवमा सुदूरपश्चिम प्रदेशका विभिन्न सरकारी तथा निजी अस्पतालमा कार्यरत चिकित्सकहरूको सहभागिता रहनेछ। महोत्सव अवधिभर सर्वसाधारणले विभिन्न स्वास्थ्य समस्या सम्बन्धी परामर्श लिनुका साथै निःशुल्क स्वास्थ्य परीक्षण सेवा प्राप्त गर्न सक्नेछन्।
स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई समेत सहज रूपमा स्वास्थ्य परीक्षण तथा चिकित्सकीय परामर्श उपलब्ध गराउने महोत्सवको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ। यसका साथै नागरिकमा स्वास्थ्यप्रतिको सचेतना बढाउने, समयमै रोग पहिचान गर्न प्रेरित गर्ने र स्वास्थ्य सेवासम्बन्धी जानकारी प्रदान गर्ने लक्ष्यसमेत राखिएको छ।
महोत्सवको आयोजना सुदूरपश्चिम प्रदेश चेम्बर अफ कमर्स, कैलाली चेम्बर अफ कमर्स र गोदावरी चेम्बर अफ कमर्सले संयुक्त रूपमा गरेका हुन्।
आयोजकले महोत्सवमा सहभागी भई निःशुल्क स्वास्थ्य परीक्षण तथा विशेषज्ञ चिकित्सकबाट परामर्श सेवा लिन सर्वसाधारणलाई आग्रह गरेको छ।






























