
मुलुकमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा देशका केही प्रदेशमा मौसम बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लागेको छ भने लुम्बिनीको पहाडी क्षेत्रमा आंशिक बदली रहेको छ। तराईका केही स्थानमा तुवाँलो लागेको छ भने अन्य भूभागको मौसम सफा रहेको छ।

महाशाखाले आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरेको छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
दिउँसो कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै, आज राति कोशी, मधेस र लुम्बिनी प्रदेशका साथै बागमती र गण्डकीका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने अनुमान छ। अन्य क्षेत्रमा मौसम सफा रहनेछ।
महाशाखाका अनुसार तराई, काठमाडौं उपत्यका तथा खोँचहरूमा बिहानपख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकाले यातायात तथा दैनिक जनजीवनमा सतर्कता अपनाउन आवश्यक छ।






























