मष्टाधाम दर्शन अभियान सुरु, यसै वर्ष १ हजार १११ धार्मिक पर्यटक भित्र्याउने लक्ष्य

Image
Nisarga Hospital

अत्तरिया: कैलालीको गोदावरी नगरपालिका–४ बन्दगडस्थित मष्टाधामलाई धार्मिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले ‘मष्टाधाम दर्शन अभियान–२०८३’ सुरु गरिएको छ। अभियानमार्फत यसै वर्ष १ हजार १११ जना धार्मिक पर्यटकलाई धामको दर्शन गराउने लक्ष्य राखिएको छ।

CP Hospital Dhangadhi

मष्टाधाम व्यवस्थापन समितिको आयोजना तथा गोदावरी ज्येष्ठ नागरिक समाजको सहकार्यमा मंगलबार अभियानको सुरुवात गरिएको हो। पहिलो चरणमा गोदावरीका १२ वटै वडाबाट आएका करिब ५५ जना ज्येष्ठ नागरिक तथा श्रद्धालुले धामको दर्शन र पूजाआराधना गरेका छन्। उनीहरूले एकै स्थानमा रहेका १२ वटा मष्टा देवताको दर्शन गर्नुका साथै धामको धार्मिक तथा पर्यटकीय महत्वबारे जानकारी लिएका थिए।

मष्टाधाम व्यवस्थापन समितिका अध्यक्ष गणेश जिमि साउदका अनुसार ६५ बिघा क्षेत्रफलमा फैलिएको धामको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ। धामलाई धार्मिक क्षेत्र, सेल्फी पार्क, ग्रिन एन्ड स्टोन पार्क, ताल क्षेत्र र पिकनिक स्पोर्ट गरी पाँच खण्डमा विकास गर्ने योजना रहेको उनले बताए।

२०७४ सालदेखि निर्माण कार्य अघि बढाइए पनि पर्याप्त बजेट अभावमा अपेक्षित प्रगति हुन नसकेको अध्यक्ष साउदको भनाइ छ। निर्माण सम्पन्न भएपछि दैनिक एक हजारभन्दा बढी पर्यटक भित्र्याउन सकिने अपेक्षा गरिएको छ। उनले डीपीआरअनुसार सरकारले आवश्यक बजेट विनियोजन गर्नुपर्नेमा जोड दिए।

गोदावरी ज्येष्ठ नागरिक समाजका अध्यक्ष भोजराज भट्टले मष्टाधाम धार्मिक आस्था र प्राकृतिक सौन्दर्यका दृष्टिले महत्वपूर्ण स्थल भएकाले यसको संरक्षण तथा प्रचारप्रसार आवश्यक रहेको बताए।

अभियानको सुरुवातमा समाजका अध्यक्ष भट्टलाई मष्टाधामको तस्बिर अंकित मायाको चिनो प्रदान गरी सम्मानसमेत गरिएको थियो। अभियानले धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षणसँगै गोदावरी र समग्र सुदूरपश्चिमको पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।