
बैतडी : बैतडीको पुर्चौंडी नगरपालिकाले प्रसिद्ध कफलखान–गिरेगडा जात्राको अवसरमा दुई दिन स्थानीय सार्वजनिक बिदा दिएको छ। नगरपालिकाले बिहीबार र शुक्रबार (मंसिर ३ र ४ गते) सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

नगरपालिका कार्यालयले सूचना जारी गर्दै वडा नम्बर १ हाटस्थित राताशीला त्रिवेणी धाममा लाग्ने कफलखान–गिरेगडा जात्राको अवसरमा बिदा दिइएको जनाएको छ। कार्तिक शुक्ल दशमीका दिन सुरु हुने उक्त जात्रा कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधनी एकादशीका दिन सम्पन्न हुने परम्परा रहेको छ।
जात्रामा स्थानीयवासी तथा श्रद्धालुहरूको उल्लासमय सहभागिता रहने भएकाले धार्मिक तथा सांस्कृतिक महत्वलाई मध्यनजर गर्दै दुई दिन बिदा दिने निर्णय गरिएको नगरपालिकाले जनाएको छ।
नगरपालिकाका अनुसार उक्त दुई दिन नगरपालिका मातहतका सबै सरकारी कार्यालय, गैरसरकारी निकाय तथा शिक्षण संस्थाहरू बन्द रहनेछन्। बिदाको निर्णयले जात्रामा सहभागी हुन चाहने स्थानीयवासी तथा श्रद्धालुहरूलाई सहज हुने अपेक्षा गरिएको छ।
कफलखान–गिरेगडा जात्रा पुर्चौंडी क्षेत्रकै महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा परिचित छ। हरेक वर्ष लाग्ने यस जात्रामा बैतडीसहित आसपासका जिल्लाबाट हजारौं दर्शनार्थी तथा भक्तजनहरू सहभागी हुने गर्दछन्। जात्राको अवसरमा धार्मिक पूजाआजासँगै देउडा कार्यक्रमसमेत आयोजना गरिने भएकाले यसले स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा समेत योगदान पुर्याउँदै आएको छ।





























