
मलेसियामा कार्यरत नेपालीसहित लाखौँ विदेशी तथा स्वदेशी श्रमिकका लागि न्यूनतम तलब वृद्धि हुने भएको छ। मलेसिया सरकारले श्रमिकको मासिक न्यूनतम पारिश्रमिक १ हजार ७ सय रिङ्गिटबाट बढाएर २ हजार रिङ्गिट पुर्याउने घोषणा गरेको छ। हालको विनिमय दरअनुसार यो रकम करिब ७२ हजार ४ सय नेपाली रुपैयाँ बराबर हुन्छ।

मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले सन् २०२७ को बजेट प्रस्तुत गर्दै अक्टोबर ९, २०२६ मा न्यूनतम तलब वृद्धि गर्ने घोषणा गरेका हुन्। नयाँ तलब व्यवस्था सन् २०२७ जुन महिनादेखि कार्यान्वयनमा आउने जनाइएको छ।
सरकारको यस निर्णयबाट ४० लाखभन्दा बढी श्रमिक लाभान्वित हुने अनुमान गरिएको छ। नयाँ व्यवस्थाअनुसार श्रमिकको न्यूनतम मासिक तलब ३०० रिङ्गिट अर्थात् करिब १७.६ प्रतिशतले वृद्धि हुनेछ। यसबाट मलेसियामा रोजगारी गरिरहेका योग्य नेपाली श्रमिकले समेत प्रत्यक्ष लाभ लिन सक्नेछन्।
तर, नयाँ तलब व्यवस्था सबै क्षेत्रमा एकैपटक लागू नहुन सक्छ। वार्षिक कारोबार ५ करोड रिङ्गिटभन्दा कम भएका साना तथा मझौला व्यवसायलाई तत्कालका लागि नयाँ न्यूनतम तलब लागू गर्न छुट दिइने व्यवस्था गरिएको छ। त्यसैले त्यस्ता प्रतिष्ठानमा कार्यरत श्रमिकको तलब वृद्धि कार्यान्वयनको समय फरक हुन सक्नेछ।
बढ्दो महँगी र दैनिक जीवनयापन खर्चका कारण श्रमिकमाथि परेको आर्थिक दबाब कम गर्ने उद्देश्यले मलेसिया सरकारले तलब वृद्धि गर्ने निर्णय गरेको हो। यो व्यवस्था कार्यान्वयनमा आएपछि मलेसियामा कार्यरत नेपाली श्रमिकको आम्दानीमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।






























