
नेपाली बजारमा सुनको मूल्य एकैदिन प्रतितोला १२ हजार २०० रुपैयाँले घटेको छ। पछिल्लो समय निरन्तर उतारचढाव देखिएको सुनको मूल्य शुक्रबार ठूलो अंकले घटेपछि बजारमा नयाँ मूल्य कायम भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४५ हजार ४०० रुपैयाँ निर्धारण गरिएको छ। यसअघि बिहीबार सुन प्रतितोला २ लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्यमा पनि उल्लेख्य गिरावट आएको छ। बिहीबार प्रतितोला ३ हजार ३३५ रुपैयाँ रहेको चाँदी शुक्रबार घटेर ३ हजार ११० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। चाँदीको मूल्य प्रतितोला २२५ रुपैयाँले घटेको हो।
महासंघका अनुसार शुक्रबार १० ग्राम सुनको मूल्य २ लाख १० हजार ३९० रुपैयाँ तोकिएको छ। यस्तै, १० ग्राम चाँदीको मूल्य २ हजार ६६६ रुपैयाँ कायम भएको छ।
सुनचाँदी दुवैको मूल्य घटेपछि खरिद–बिक्री गर्ने उपभोक्ताको ध्यान बजारतर्फ तानिएको छ।




























