
दसैँ–तिहारको चहलपहल सकिएसँगै सुदूरपश्चिमका पहाडी जिल्लामा धार्मिक तथा सांस्कृतिक गतिविधि बढेका छन्। कात्तिक शुक्लपक्षदेखि मंसिर महिनासम्म लाग्ने परम्परागत जात्रा र मेलाले गाउँबस्तीमा उत्साह थपेका छन्। देवीदेवताको पूजाआजा, दर्शन, ढालतरबारसहितको चौलो, देउरो नाच र परम्परागत बाजागाजाले यतिबेला सुदूरपश्चिमको मौलिक पहिचानलाई जीवन्त बनाइरहेका छन्।

बैतडीको प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरमा यस वर्षको जात्रा सम्पन्न भइसकेको छ। प्रत्येक वर्ष कात्तिक शुक्ल अष्टमी र नवमीमा लाग्ने जात्रामा नेपाल तथा भारतका हजारौँ श्रद्धालुले दर्शन गरेका थिए। त्यसैगरी डडेल्धुराको गन्यापधुरास्थित कैलपाल देवताको जाँत पनि सम्पन्न भएको छ। कैलपाल माण्डौँमा लागेको जात्रामा विभिन्न जिल्लासँगै भारतको सिङहाई क्षेत्रबाट समेत भक्तजन सहभागी भएका थिए। देउरो नाच, चौलो र धार्मिक झाँकीले जात्रालाई विशेष बनाएको थियो।
अब डडेल्धुराको प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा मंसिर ७ गते राति रतेडी तथा ८ गते दिउँसेडीसहित देहीजाँत लाग्दैछ। चार गाउँबाट ध्वजा, कलश, डोली र परम्परागत बाजागाजासहित देउरो ल्याएर मन्दिरमा पूजा गर्ने चलन छ। धामीले भाकाबैजाली दिने, भक्तजनले भाकलअनुसार पूजासामग्री चढाउने र धार्मिक विधिअनुसार देउरा फर्काउने परम्परा यस जात्राका मुख्य आकर्षण हुन्।
यस्तै, बैतडीको मेलौली भगवती मन्दिरमा मंसिर ७ र ८ गते ऐतिहासिक देहीजात आयोजना हुँदैछ। जात्रामा राँगाको बलि दिने परम्परा छ। श्रद्धालुहरूको सहज सहभागिताका लागि मेलौली नगरपालिकाले दुई दिन स्थानीय सार्वजनिक बिदासमेत दिएको छ। जात्रालाई व्यवस्थित बनाउन मन्दिर आसपास मदिराको बिक्री–वितरण तथा सेवनमा पनि प्रतिबन्ध लगाइएको छ।
यसैगरी डडेल्धुराको अजयमेरुस्थित जगन्नाथ धाममा मंसिर १० गते खोलेइ जात आयोजना हुँदैछ। गुनपाल, चौडी, चिपुर र मड गाउँबाट देउरो बोकेर भक्तजन मन्दिर पुग्ने परम्परा यस मेलाको विशेषता हो।
उता डोटीको बडीकेदारधाममा मंसिर ५ र ६ गते धार्मिक मेला लाग्दैछ। वैकुण्ठ चतुर्दशीका अवसरमा विशेष केदार पूजन गरिने मेलामा सहभागी हुन धनगढीबाट चारवटा निःशुल्क बसको व्यवस्था गरिएको छ।
यता डडेल्धुराको गन्यापधुरास्थित बडालमा मंसिर ४ गते लाटागन्याप देवताको प्रसिद्ध जाँत आयोजना हुँदैछ। राति रतेडी र भोलिपल्ट दिउँसेडी हुने जात्रामा ढाल, तरबार, भाला र परम्परागत बाजागाजासहित खेलिने चौलो मुख्य आकर्षण हो।
यी जात्रा तथा मेलाहरू धार्मिक आस्थाका केन्द्र मात्र नभई सुदूरपश्चिमको मौलिक कला, संस्कृति र सामाजिक एकताको पहिचानसमेत हुन्। यस्ता पर्वले स्थानीय व्यापार, पर्यटन र सांस्कृतिक सम्पदाको संरक्षणमा समेत योगदान पुर्याउँदै आएका छन्। देश तथा विदेशमा रहेका नेपालीलाई समेत आफ्नो मौलिक परम्परासँग जोड्ने यस्ता उत्सवले सुदूरपश्चिमको सांस्कृतिक पहिचानलाई थप उजागर गरिरहेका छन्।






























