सेती प्राविधिक शिक्षालयकी प्रमुखमाथि आर्थिक अनियमितताको आरोप, अख्तियारमा उजुरी

Image
Nisarga Hospital

डोटीः डोटीको दिपायलस्थित सेती प्राविधिक शिक्षालयकी शिक्षालय प्रमुख सुशीला शर्मामाथि पदीय जिम्मेवारी र अधिकारको दुरुपयोग गर्दै आर्थिक अनियमितता गरेको आरोप लागेको छ। शिक्षालयको बजेट दुरुपयोग, नातेदारलाई अनियमित नियुक्ति, खरिद प्रक्रियामा अनियमितता तथा तालिम सञ्चालनका नाममा दोहोरो भुक्तानी लिएको भन्दै उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हो।

CP Hospital Dhangadhi

शिक्षालयकै कर्मचारीको भनाइ उद्धृत गर्दै उजुरीमा शर्माले आफ्नै सहोदर दिदी अनिता शर्मा सापकोटालाई दैनिक ज्यालादारीमा नियुक्त गरी नियमित कार्यालयमा उपस्थित नभए पनि हाजिरी मिलाएर तलब भुक्तानी गर्ने गरेको आरोप लगाइएको छ। दिदीलाई कार्यालयको काममा भन्दा व्यक्तिगत तथा घरायसी काममा लगाउने गरिएको दाबीसमेत गरिएको छ।

त्यस्तै, कैलालीको मुसुरियामा उनका श्रीमानले सञ्चालन गरेको हार्डवेयर सप्लायर्सबाट शिक्षालयका लागि आवश्यकताभन्दा बाहिरका सामग्री खरिद गर्ने र वास्तविक पसलको बिल प्रयोग नगरी अन्य पसलका बिल पेस गर्ने गरेको आरोप छ। खरिद गरिएका कतिपय सामग्री प्रयोगविहीन अवस्थामा स्टोरमा थन्किएको उजुरीमा उल्लेख छ।

आर्थिक वर्ष २०८१/८२ मा कृषि विकास निर्देशनालय डोटीको ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत गड्यौला मल उत्पादनका लागि विनियोजित ५ लाख ५० हजार रुपैयाँमध्ये करिब २ लाख रुपैयाँ मात्रै खर्च गरी बाँकी रकममा अनियमितता गरिएको आरोप छ। पुरानै खाडललाई नयाँ निर्माण भएको देखाइएको दाबी पनि गरिएको छ। यस्तै, आर्थिक वर्ष २०८२/८३ मा च्याउ उत्पादन केन्द्र निर्माणका लागि विनियोजित ९ लाख ५० हजार रुपैयाँमध्ये एकदेखि दुई लाख रुपैयाँ मात्रै खर्च भएको भन्दै बजेटको पारदर्शितामाथि प्रश्न उठाइएको छ।

१० लाख रुपैयाँको कोटेसनमार्फत गरिएको काममा लागत अनुमानअनुसार गुणस्तर र परिमाण पूरा नगरी ठेकेदारबाट तीन लाख रुपैयाँ लिएको आरोपसमेत उजुरीमा समेटिएको छ। शिक्षालयको मर्मतसम्भार, निर्माण, स्वास्थ्य तथा पशु शिविर र छोटो अवधिका तालिमका लागि विनियोजित बजेटमा समेत अनियमितता भएको दाबी गरिएको छ।

यसैगरी, शिक्षालयका सहायक प्रशिक्षक तीर्थराज अवस्थीमाथि पनि तालिम सञ्चालन र भुक्तानी प्रक्रियामा अनियमितता गरेको आरोप छ। एउटै तालिमको भुक्तानी सामुदायिक विकास केन्द्र डोटी र शिक्षालय दुवैबाट लिएको, प्रशिक्षार्थीका लागि छुट्याइएको खाजा तथा भत्ता उपलब्ध नगराएको र ६५ हजार रुपैयाँ खाजा खर्चसमेत व्यक्तिगत रूपमा प्रयोग गरेको उजुरीमा उल्लेख छ। भेटेरिनरी विषयका प्रशिक्षकले कृषि विषयका तालिम सञ्चालन गरी भुक्तानी लिएको तथा जिम्मेवारीअनुसार काम नगरेको आरोप पनि लगाइएको छ।

शिक्षालय प्रमुख शर्माले आफ्नै भ्रमण आदेश स्वीकृत गरी महिनामा तीनदेखि चार पटकसम्म भ्रमण गर्ने, दिदीको नाममा समेत भ्रमण आदेश स्वीकृत गरी सुविधा लिने र कर्मचारीको किर्ते दस्तखतबाट भुक्तानी लिने गरेको आरोपसमेत उजुरीमा छ। अतिथि सत्कारलगायतका शीर्षकको बजेट व्यक्तिगत प्रयोजनमा खर्च गरी बिल पेस गर्ने गरिएको कर्मचारीको गुनासो छ।

यी विषय सार्वजनिक भएपछि शर्मा सरुवा भएर कैलालीको टीकापुर जान लागेको बताइएको छ। यद्यपि, सरुवाको कारण र आरोपबारे उनको प्रतिक्रिया प्राप्त हुन सकेको छैन।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सुदूरपश्चिम प्रदेशका उपनिर्देशक देवसिंह धामीले शिक्षालयसम्बन्धी विभिन्न विषयमा उजुरी प्राप्त भएको पुष्टि गरेका छन्। उनका अनुसार प्राप्त उजुरी परिषद्का सदस्यसचिवसमक्ष पठाइएको छ। यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको बताइएको छ।

शिक्षालयको बजेट, खरिद, नियुक्ति र तालिम सञ्चालनसँग जोडिएका यी आरोपबारे सम्बन्धित निकायबाट निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग उठेको छ। आरोप पुष्टि भइसकेको अवस्था भने छैन।