एनपीएल उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै, रोहित र दीपेन्द्रको प्रतिष्ठाको लडाइँ

Image
Nisarga Hospital

नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज शनिबार साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा साँझ ५ बजे सुरु हुने फाइनललाई यस सिजनकै सबैभन्दा प्रतीक्षित खेलका रूपमा हेरिएको छ। नेपाली क्रिकेटका दुई अनुभवी कप्तान रोहित पौडेल र दीपेन्द्रसिंह ऐरी आमनेसामने हुने भएकाले पनि यो भिडन्त थप रोचक बनेको छ।

CP Hospital Dhangadhi

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा दुवै टोलीका कप्तानले उपाधि जित्ने आत्मविश्वास व्यक्त गरेका छन्। लुम्बिनी लगातार दोस्रो पटक उपाधि जित्दै आफ्नो वर्चस्व कायम राख्ने योजनामा छ भने सुदूरपश्चिम पहिलो पटक च्याम्पियन बन्ने लक्ष्यसहित मैदान उत्रनेछ।

सुदूरपश्चिमका लागि यो लगातार तेस्रो फाइनल हो। पहिलो सिजन जनकपुर बोल्ट्ससँग र दोस्रो सिजन लुम्बिनी लायन्ससँग पराजित हुँदै उपविजेतामा सीमित भएको सुदूरपश्चिम यसपटक इतिहास बदल्ने दाउमा छ। विशेषगरी गत सिजनको फाइनल र यसै सिजनको पहिलो क्वालिफायरमा लुम्बिनीसँग बेहोरेको हारको बदला लिने अवसर पनि टोलीसँग छ।

सुदूरपश्चिमले दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो। चितवनले दिएको १३४ रनको लक्ष्य सुदूरपश्चिमले १९.५ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको थियो। थारिन्दु रथ्नायकेले अविजित ५३ रन बनाउँदै टोलीलाई जित दिलाए। अन्तिम दुई बलमा दुई रन आवश्यक रहेका बेला उनले विजयी चौका प्रहार गरेका थिए।

यता लुम्बिनीले पहिलो क्वालिफायरमै सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको थियो। त्यसैले शनिबारको खेल दुवै टोलीका लागि प्रतिष्ठासँगै उपाधि रक्षाको महत्त्वपूर्ण अवसर बनेको छ।

रोहित र दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नजर

यस फाइनलको अर्को मुख्य आकर्षण दुवै टोलीका कप्तान रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीको प्रदर्शन हुनेछ। एनपीएलका तीनवटै संस्करणमा यी दुई खेलाडीले आफ्नो नेतृत्व क्षमता र अलराउन्ड प्रदर्शनबाट विशेष छाप छोडेका छन्।

लुम्बिनीका मार्की तथा कप्तान रोहितले पहिलो संस्करणमा टोली लिग चरणबाटै बाहिरिए पनि व्यक्तिगत रूपमा उत्कृष्ट प्रदर्शन गरेका थिए। उनी नेपाली खेलाडीमध्ये सर्वाधिक रन बनाउने ब्याटर बनेका थिए। दोस्रो संस्करणमा ब्याटिङसँगै स्पिन बलिङमा समेत प्रभाव जमाएका रोहितले लुम्बिनीलाई पहिलोपटक च्याम्पियन बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरे। जारी सिजनमा पनि मध्यक्रममा जिम्मेवारीपूर्वक ब्याटिङ गर्नुका साथै बलिङ र फिल्डिङमा योगदान दिँदै उनले टोलीलाई लगातार दोस्रो फाइनलसम्म पुर्‍याएका छन्।

अर्कोतर्फ, सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी टोलीको सफलताका प्रमुख आधार बनेका छन्। पहिलो संस्करणमा प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भएका उनले आक्रामक ब्याटिङ, प्रभावकारी स्पिन बलिङ र उत्कृष्ट फिल्डिङमार्फत आफ्नो क्षमता प्रमाणित गरेका थिए। दोस्रो संस्करणमा पनि फिनिसरको भूमिका निर्वाह गरेका दीपेन्द्रले तेस्रो संस्करणमा कठिन परिस्थितिमा संयमित ब्याटिङ र कसिलो बलिङ गर्दै टोलीलाई लगातार तेस्रो पटक फाइनलसम्म पुर्‍याएका छन्।

दुवै कप्तान ब्याटिङ, बलिङ र फिल्डिङमा समान रूपमा प्रभावशाली रहेकाले शनिबारको फाइनलमा उनीहरूको प्रदर्शन निर्णायक बन्न सक्नेछ। यद्यपि क्रिकेटमा कप्तानको प्रदर्शनसँगै अन्य खेलाडीको योगदान, साझेदारी र दबाबमा लिने निर्णयले पनि नतिजा निर्धारण गर्नेछ।

लुम्बिनी उपाधि जोगाएर लगातार दोस्रो पटक च्याम्पियन बन्न चाहन्छ भने सुदूरपश्चिम तीन पटकको प्रयासपछि पहिलो उपाधि जित्ने अभियानमा छ। अब कीर्तिपुरको मैदानमा कसले बाजी मार्छ भन्ने निर्णय साँझको रोमाञ्चक भिडन्तले गर्नेछ।