सहमति कार्यान्वयन नभए पुनः आन्दोलन गर्ने डा. गोविन्द केसीको चेतावनी

Image
Nisarga Hospital

चिकित्सा शिक्षा सुधार अभियन्ता प्रा. डा. गोविन्द केसीले सरकारसँग भएका सहमतिहरू तत्काल कार्यान्वयन गर्न माग गर्दै अन्यथा स्थगित सत्याग्रहसहितको आन्दोलन पुनः सुरु गर्ने चेतावनी दिएका छन्।

CP Hospital Dhangadhi

डा. केसीले प्रेस विज्ञप्ति जारी गर्दै २०८३ कात्तिक २१ गते शिक्षामन्त्रीसहितको सरकारी टोलीसँग भएको सहमतिका बुँदाहरू दुई साताभित्र कार्यान्वयन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्म पूरा नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।

यसअघि चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुधार, सुशासन र सबै नागरिकको समान पहुँच सुनिश्चित गर्नुपर्ने माग राख्दै उनले २०८३ साउन ११ गतेदेखि २४औँ सत्याग्रह सुरु गरेका थिए। सरकारसँग निश्चित समयभित्र माग पूरा गर्ने सहमति भएपछि उक्त सत्याग्रह स्थगित गरिएको थियो।

तर, सहमति कार्यान्वयन गर्नुको साटो सरकारले चिकित्सा शिक्षा ऐन र सुशासनको मर्मविपरीत निर्णयहरू गरेको भन्दै डा. केसीले कात्तिक महिनामा पुनः नौ दिन लामो २५औँ सत्याग्रह गरेका थिए। त्यसक्रममा कात्तिक २१ गते शिक्षामन्त्रीसहितको सरकारी टोलीसँग विभिन्न माग कार्यान्वयन गर्ने सहमति भएको थियो।

सहमति भएको लगत्तै तिहार र छठ पर्वका सार्वजनिक बिदा परेकाले सरकारलाई प्रतिबद्धता पूरा गर्न केही दिन थप समय दिइएको डा. केसीले विज्ञप्तिमा उल्लेख गरेका छन्। तर, बिदा सकिएपछि पनि सहमति कार्यान्वयनमा ठोस प्रगति नदेखिएको उनको भनाइ छ।

जनताको स्वास्थ्य र शिक्षासँग प्रत्यक्ष जोडिएका संवेदनशील विषयमा सरकारले गरेको प्रतिबद्धताबाट पछि हट्न नमिल्ने उनले बताएका छन्। सहमतिअनुसार मागहरू तत्काल सम्बोधन गर्नुपर्ने उनको जोड छ।

डा. केसीले अब पनि सहमति कार्यान्वयन नभएमा वा सहमतिविपरीतका गतिविधि जारी रहेमा आफू पुनः आन्दोलनमा उत्रन बाध्य हुने स्पष्ट पारेका छन्। त्यसबाट उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी सरकारले नै लिनुपर्ने चेतावनीसमेत उनले दिएका छन्।