
हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागमा आंशिक बदली रहेको छ भने देशका बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमानअनुसार सोमबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भाग तथा कोशी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। देशका अन्य भू–भागमा भने मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ।
त्यस्तै, सोमबार राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
यसैबीच, कोशी र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना रहेको छ। महाशाखाले अन्य क्षेत्रमा भने उल्लेखनीय मौसमी गतिविधि नरहने पूर्वानुमान गरेको छ।





























