
नेपाल र भारतबीच द्विपक्षीय सहकार्य विस्तार गर्ने उद्देश्यले सार्वजनिक गरिएको ‘विकसित भारत र समुन्नत नेपाल : साझेदारीको पुनर्परिकल्पना’ संयुक्त दृष्टिपत्रमा सुदूरपश्चिम प्रदेशसँग प्रत्यक्ष जोडिएका तीन महत्वपूर्ण आयोजना समेटिएका छन्। दार्चुला–धार्चुलाबीच महाकाली नदीमाथि सवारीसाधन सञ्चालनयोग्य पुल, दोधारा–चाँदनीमा एकीकृत जाँच चौकी (आईसीपी) र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनालाई दृष्टिपत्रमा प्राथमिकता दिइएको हो।

भारतको धार्चुला र नेपालको दार्चुलाबीच महाकाली नदीमाथि निर्माण सम्पन्न भएको मोटरेबल पुलको उद्घाटनलाई दुवै देशका प्रधानमन्त्रीले स्वागत गरेका छन्। पुल सञ्चालनमा आएसँगै सुदूरपश्चिम र भारतबीच सडक सम्पर्क, आवागमन तथा सीमापार व्यापार थप सहज हुने अपेक्षा गरिएको छ।
त्यस्तै, भारतको बनबासा र नेपालको दोधारा–चाँदनीमा नयाँ एकीकृत जाँच चौकी निर्माणको काम तीव्र बनाउने सहमति भएको छ। उक्त संरचना निर्माण भएपछि पश्चिमी नाकाबाट हुने आयात–निर्यात, भन्सार प्रक्रिया तथा सीमापार आवागमन व्यवस्थित हुने विश्वास गरिएको छ।
सुदूरपश्चिमको आर्थिक विकाससँग जोडिएको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनालाई पनि दृष्टिपत्रमा विशेष महत्व दिइएको छ। नेपाल र भारतले जलस्रोतको पारस्परिक लाभका लागि उपयोग, विद्युत् उत्पादन तथा बाढीबाट हुने क्षति न्यूनीकरण गर्ने उद्देश्यसहित पञ्चेश्वरसहित सप्तकोशी र सुनकोशी बहुउद्देश्यीय आयोजनाको काम अघि बढाउने सहमति गरेका छन्।
दृष्टिपत्रमा जलविद्युत् तथा विद्युत् प्रसारण पूर्वाधारमा लगानी बढाउने, बजारको माग र आपसी लाभका आधारमा विद्युत् व्यापार विस्तार गर्ने विषयसमेत समेटिएका छन्। साथै, खुला सीमालाई सुरक्षित र व्यवस्थित राख्दै सीमापार अपराध तथा गैरकानुनी गतिविधि नियन्त्रणमा सहकार्य सुदृढ गर्ने उल्लेख छ।
समग्रमा नेपाल–भारतबीच ऊर्जा, जलस्रोत, पूर्वाधार, सडक तथा रेल सञ्जाल, व्यापार, लगानी, पर्यटन, शिक्षा, स्वास्थ्य र डिजिटल कनेक्टिभिटी विस्तारलाई प्राथमिकता दिइएको छ।
दृष्टिपत्रमा समेटिएका महाकाली पुल, दोधारा–चाँदनी आईसीपी र पञ्चेश्वर आयोजना प्रभावकारी रूपमा कार्यान्वयन भए सुदूरपश्चिमको सीमा व्यापार, यातायात, ऊर्जा उत्पादन तथा समग्र आर्थिक गतिविधिमा महत्वपूर्ण परिवर्तन आउने अपेक्षा गरिएको छ।




























