
कैलाली : सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीविरुद्ध दायर गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दामा मंगलबार विशेष अदालतमा सुनुवाइका लागि पेसी तोकिएको छ।

विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासमा उक्त मुद्दाको सुनुवाइ हुने तय भएको हो। यसअघि अदालतले मुद्दामा प्रमाण बुझ्ने आदेश दिएको थियो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोडारीले सार्वजनिक पदमा रहँदा १ करोड ८ लाख ३८ हजार ३०२ रुपैयाँ ५७ पैसा गैरकानुनी रूपमा आर्जन गरेको दाबी गर्दै २०८२ जेठ १९ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। आयोगले सोही रकमलाई बिगो कायम गरेको छ।
अभियोगपत्रअनुसार सोडारीले २०७४ माघ ७ देखि २०७९ माघ १० गतेसम्म सार्वजनिक सेवाको पदमा रहँदा पदको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको अख्तियारको आरोप छ।
आयोगको अनुसन्धानमा सो अवधिमा सोडारीको पारिश्रमिक, बैंक ब्याज, कृषि आय, श्रीमती तथा छोराछोरीको पारिश्रमिक र सामाजिक सुरक्षा भत्तालगायतबाट कुल ८५ लाख ५१ हजार ३३४ रुपैयाँ ९२ पैसा आम्दानी भएको देखिएको छ।
तर, सोही अवधिमा जग्गा खरिद, घर निर्माण, भित्री सजावट, छोरीको अध्ययन, छोराको विवाह, सेयर लगानी तथा चुनाव खर्चलगायत शीर्षकमा १ करोड ९३ लाख ८९ हजार ६३७ रुपैयाँ ४९ पैसा खर्च भएको अख्तियारको दाबी छ।
आम्दानीभन्दा खर्च बढी देखिएपछि १ करोड ८ लाख ३८ हजार ३०२ रुपैयाँ ५७ पैसाको स्रोत नखुलेको आयोगको निष्कर्ष छ। अख्तियारले सोडारीकी श्रीमती गीता सोडारी र छोरा बबि सोडारीका नाममा खरिद गरिएका जग्गा, घर निर्माण तथा बैंक मौज्दातसमेत जफत गर्न अदालतसमक्ष माग गरेको छ।



























