
धादिङ: धादिङको गल्छी गाउँपालिका–७ स्थित गल्छी बजारमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

पृथ्वी राजमार्गमा बुधबार बिहान करिब ११ बजे काठमाडौंबाट गजुरीतर्फ जाँदै गरेको बा ४ ख ६०५९ नम्बरको टिपरले विपरीत दिशाबाट आइरहेको बा ९८ प ३१३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
दुर्घटनामा मोटरसाइकल चालक डडेलधुराको अजयमेरु गाउँपालिका निवासी २८ वर्षीय बरुणप्रसाद भट्ट गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि बैरेनी अस्पताल पुर्याइए पनि चिकित्सकले जाँच गर्दा मृत घोषणा गरेका थिए।
दुर्घटनापछि आक्रोशित स्थानीयवासीले केहीबेर पृथ्वी राजमार्ग अवरुद्ध गरेका थिए। स्थानीयको अवरोधका कारण राजमार्गमा सवारी आवागमन प्रभावित भएको थियो।


























