
बैतडीमा ४५ जना यात्रु सवार बस दुर्घटनामा परेको छ। बझाङबाट धनगढीतर्फ आउँदै गरेको सु.प.प्र.०१–००१ ख ३८४५ नम्बरको बस जयपृथ्वी राजमार्गअन्तर्गत सिगास गाउँपालिका–९, बाचपानी नजिक दुर्घटनामा परेको हो।

बुधबार दिउँसो करिब १ बजे बसको कमानी भाँचिएपछि अनियन्त्रित भई सडकको बायाँतर्फका दुवै टायर सडकबाट बाहिर गएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयो।
दुर्घटनामा कुनै मानवीय क्षति नभएको उहाँले बताउनुभयो। प्रहरी चौकी ढोल्यामोडका प्रहरी सहायक निरीक्षक सोपान सिंह भण्डारीका अनुसार बसमा ४५ जना यात्रु सवार थिए।
दुर्घटनाको खबर पाएलगत्तै प्रहरी सहायक निरीक्षक भण्डारीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। बसमा सवार यात्रुहरूलाई अर्को बसमार्फत गन्तव्यतर्फ पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। त्यस्तै, दुर्घटनाग्रस्त बसलाई सडकबाट निकाल्ने प्रयास भइरहेको छ।


























