कैलालीको गोदावरीका ८ सडक निर्माणले गति लिँदै, ४२ प्रतिशत निर्माण काम सम्पन्न

Image
Nisarga Hospital

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा एशियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा निर्माण भइरहेका आठवटा सडकको कामले गति लिएको छ। क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत नगरपालिकाका विभिन्न क्षेत्रमा निर्माण भइरहेका सडकको भौतिक प्रगति हालसम्म ४२ प्रतिशत पुगेको छ। केही स्थानमा देखिएका सामान्य विवाद र अवरोध समाधान भएसँगै निर्माण कार्यले पुनः निरन्तरता पाएको हो।

CP Hospital Dhangadhi
 

गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्ट नगरभित्रको पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै सडक निर्माणलाई निर्धारित समयमै सम्पन्न गराउन सक्रिय देखिएका छन्। नगरको समग्र विकास, व्यवस्थित सहरीकरण र नागरिकलाई सहज आवागमनको सुविधा उपलब्ध गराउने उद्देश्यसहित नगर प्रमुख भट्टले निर्माण कार्यमा देखिएका समस्याको समाधानका लागि स्थानीयवासी, निर्माण कम्पनी तथा सम्बन्धित निकायसँग समन्वय गर्दै आएका छन्।

यसैक्रममा गोदावरी नगरपालिका–३ अन्तर्गत मालाखेतीको कुहिनेको रुखदेखि ग्वासी माध्यमिक विद्यालय जाने सडकखण्डमा देखिएको सिमाना विवाद समाधान गरिएको छ। नगर प्रमुख भट्ट, वडा नम्बर ३ का अध्यक्ष तेजराज अवस्थी, सहरी विकास कार्यालयका प्रतिनिधि, निर्माण कम्पनीका प्रतिनिधि तथा स्थानीयवासीबीच छलफल गरी आपसी समझदारीमा विवाद टुंग्याइएको हो। स्थानीयको सरोकारलाई सम्बोधन गर्दै सबै पक्षबीच समन्वय भएपछि उक्त सडकको निर्माण कार्य अघि बढाउने वातावरण बनेको छ।

नगर प्रमुख भट्टले स्थानीयवासीका समस्या र गुनासोलाई सम्बोधन गर्दै विकास निर्माणका काम अघि बढाउन नगरपालिका प्रतिबद्ध रहेको बताएका छन्। उनले स्थानीयवासी, जनप्रतिनिधि, सहरी विकास कार्यालय र निर्माण कम्पनीबीच आवश्यक समन्वय गरेर सडक निर्माणलाई निरन्तरता दिइने उल्लेख गरेका छन्। निर्माणका क्रममा देखिने समस्यालाई आपसी छलफल र सहमतिबाट समाधान गर्दै गुणस्तरीय काम सम्पन्न गराउनु आफ्नो प्राथमिकता रहेको उनको भनाइ छ।

नगर प्रमुख भट्टका अनुसार एडीबीको सहयोगमा निर्माण भइरहेका सडक सम्पन्न भएपछि गोदावरीका नागरिकलाई आवागमनमा ठूलो राहत पुग्नेछ। सडक पूर्वाधारको विस्तारले स्थानीय बस्तीको पहुँच, व्यापारिक गतिविधि, सहरी विकास तथा समग्र नगरको आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। नगर प्रमुख भट्ट नगरपालिकाभित्र आवश्यक पूर्वाधार निर्माण, नागरिकका समस्या समाधान र विकासका योजनालाई कार्यान्वयनमा लैजान निरन्तर लागिपरेका छन्।

आयोजनाअन्तर्गत बिजौरा हुँदै आँखा अस्पतालबाट ६ लेन सडक जोड्ने सडक, मालाखेती अस्पतालदेखि कृष्णमन्दिरसम्मको सडक, ग्वासी माध्यमिक विद्यालय हुँदै फल्टुडे जोड्ने सडक, अत्तरिया रिङरोड, शान्तिमार्ग रोड, लालपुर–गौडी रोड, मालाखेतीको भट्ट किराना पसलदेखि कुहिनेको रुखसम्मको सडक तथा तेघरीस्थित सुप समावेशी विद्यालयदेखि आर्मी ब्यारेकसम्मको सडक निर्माण भइरहेको छ।

निर्माण कम्पनी केएसएनएस–बीसीपीएल जेभीका अनुसार आठवटै सडक निर्माणका लागि कुल ३२ करोड ५९ लाख ५३ हजार ५१६ रुपैयाँ लागत रहेको छ। नगरभित्र कुल ८.२३ किलोमिटर सडक निर्माण गरिँदै छ। सडकसँगै आवश्यक स्थानमा नाली, फुटपाथ तथा सडक बत्तीसमेत निर्माण गरिने योजनामा उल्लेख छ।

यी सडक निर्माण सम्पन्न भएपछि गोदावरी नगरपालिकाको सहरी पूर्वाधार थप व्यवस्थित हुनुका साथै स्थानीयवासीको दैनिक आवागमन सहज हुने अपेक्षा गरिएको छ।