
साउदी अरबको जिजान सहरस्थित तेल प्रशोधन केन्द्रमा भएको हवाई हमलामा परी एक नेपाली कामदारको मृत्यु भएको छ। बिहीबार भएको उक्त आक्रमणमा अन्य केही कामदारसमेत घाइते भएको कतारी सञ्चारमाध्यम अल जजिराले साउदीको ऊर्जा मन्त्रालयलाई उद्धृत गर्दै जनाएको छ।

साउदीको ऊर्जा मन्त्रालयका अनुसार रेड सीको तटीय क्षेत्रमा भएको हवाई हमलापछि तेल प्रशोधन केन्द्रमा आगलागी भएको थियो। मृत्यु हुने नेपाली कामदारको पहिचान भने सार्वजनिक गरिएको छैन। मन्त्रालयले उक्त आक्रमण इरान समर्थित हुथी विद्रोहीले गरेको आरोप लगाएको छ।
आक्रमण हुनुअघि साउदी नागरिक सुरक्षा निकायले जिजान क्षेत्रमा सम्भावित खतराबारे चेतावनी जारी गरेको थियो। हुथी विद्रोहीले यसअघि पनि साउदीका महत्वपूर्ण तेल केन्द्र तथा बन्दरगाहलाई लक्षित गरी आक्रमण गरेको दाबी गरेका थिए।
पछिल्लो समय साउदी अरब र यमनका हुथी विद्रोहीबीच द्वन्द्व चर्किएको छ। सन् २०१५ देखि साउदी नेतृत्वको गठबन्धनले यमनमा हुथीविरुद्ध सैन्य कारबाही गर्दै आएको छ।
यसैबीच, यमनको सरकारी सेनाले बिहीबार हुथी विद्रोहीका अखडामा ७६७ पटक आक्रमण गरेको दाबी गरेको छ। ती आक्रमणमा ११७ लडाकु मारिएको र ८७ वटा सवारीसाधन तथा सैन्य सामग्री नष्ट भएको सेनाको भनाइ छ।
विश्व स्वास्थ्य संगठनका अनुसार यमनमा द्वन्द्व चर्किएयता २ हजार ३६१ जनाको मृत्यु र १० हजार ९८२ जना घाइते भएका छन्। संयुक्त राष्ट्रसंघका अनुसार ३ लाख ६० हजारभन्दा बढी मानिस विस्थापित भएका छन्।



























