
माया मेट्रो हस्पिटल प्रा.लि. र सुदूरपश्चिमेली नेपाली समाजबीच स्वास्थ्य सेवा सहुलियतसम्बन्धी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ। सम्झौतासँगै समाजमा आबद्ध पदाधिकारी तथा सदस्यका परिवारले माया मेट्रो हस्पिटलबाट उपचार, स्वास्थ्य परीक्षणलगायतका सेवामा विशेष सहुलियत तथा सुविधा पाउने भएका छन्।

समाजका अध्यक्ष धर्मराज पाण्डेयका अनुसार सम्झौताअनुसार समाजमा आबद्ध सदस्यहरूले संस्थाबाट प्राप्त सम्झौतापत्र देखाएर अस्पतालले उपलब्ध गराउने सहुलियत लिन सक्नेछन्। यसअघि पनि समाजले निशर्ग हस्पिटलसँग स्वास्थ्य सेवा सहुलियतसम्बन्धी सम्झौता गरिसकेको छ। अब समाजका सदस्यले माया मेट्रो र निशर्ग दुवै अस्पतालबाट सम्झौताअनुसारका सुविधा प्राप्त गर्न सक्नेछन्।
सम्झौताका लागि सहयोग गर्ने माया मेट्रो हस्पिटलका पदाधिकारी, चिकित्सक तथा कर्मचारीप्रति अध्यक्ष पाण्डेयले आभार व्यक्त गरेका छन्। उनले विशेषगरी धीरेन्द्र साउदको योगदानको प्रशंसा गर्दै लामो समयदेखिको सहकार्य र आत्मीय सम्बन्धलाई निरन्तरता दिन तथा सम्झौताको वातावरण निर्माण गर्न साउदले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए।
विदेशमा रहे पनि आफ्नो जन्मभूमि नेपाल र सुदूरपश्चिमप्रतिको जिम्मेवारीलाई आत्मसात् गर्दै समाजले समुदायको हितमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको अध्यक्ष पाण्डेयको भनाइ छ।
उनले समाजका संस्थापक सदस्य, अग्रज तथा अभियानमा जोडिएका सम्पूर्ण व्यक्तिप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि एकता, सहकार्य र आपसी समन्वयमार्फत सुदूरपश्चिमेली समुदायको हितमा काम गर्ने प्रतिबद्धता जनाएका छन्।
यस सम्झौताले विदेश तथा स्वदेशमा रहेका सुदूरपश्चिमेली परिवारलाई गुणस्तरीय स्वास्थ्य सेवा सहुलियतमा प्राप्त गर्न थप सहज हुने अपेक्षा गरिएको छ।



























