
काठमाडौं: छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले स्थापनाको गौरवमय २५ वर्ष सफलतापूर्वक पूरा गरेको अवसरमा रजत जयन्ती मनाउँदै संस्थाको २६औँ वर्षमा प्रवेश गरेको छ। संस्थाले यस सुखद अवसरलाई देशका विभिन्न स्थानमा विविध सामाजिक तथा जनचेतनामूलक कार्यक्रम आयोजना गरी उत्साहपूर्वक मनाएको छ।

रजत जयन्तीको अवसरमा संस्थाले विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्नुका साथै सरसफाइ तथा स्वच्छ वातावरण प्रवर्द्धन गर्ने उद्देश्यले डस्टबिन वितरण गरेको छ। त्यसैगरी, शिक्षा क्षेत्रको विकास तथा विद्यार्थीको शैक्षिक यात्रामा सहयोग पुर्याउने उद्देश्यले विभिन्न स्थानका विद्यार्थीलाई छात्रवृत्तिसमेत प्रदान गरेको छ।
संस्थाले आफ्नो २५ वर्षे सफल यात्रालाई केवल व्यावसायिक उपलब्धिका रूपमा मात्र नभई सामाजिक उत्तरदायित्व, वित्तीय समावेशीकरण र समुदायको आर्थिक तथा सामाजिक रूपान्तरणसँग जोडिएको महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ।
यस ऐतिहासिक यात्रालाई सफल बनाउन निरन्तर साथ, सहयोग, विश्वास र मार्गदर्शन प्रदान गर्नुहुने सम्पूर्ण सदस्य महानुभावहरू, नियमनकारी निकाय, सञ्चालक समिति, सेयरधनी, कर्मचारी तथा शुभेच्छुकहरूप्रति संस्थाले हार्दिक आभार तथा कृतज्ञता व्यक्त गरेको छ।
संस्थाले आगामी दिनमा पनि सदस्यहरूको आर्थिक तथा सामाजिक सशक्तीकरण, वित्तीय पहुँच विस्तार, वित्तीय साक्षरता अभिवृद्धि र सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।
२५ वर्षको गौरवमय विरासतलाई आत्मसात् गर्दै छिमेक लघुवित्तले आगामी दिनमा पनि विश्वास, सेवा र समृद्धिको यात्रालाई निरन्तरता दिने अपेक्षा गरिएको छ।





























