
भारतको प्रतिष्ठित प्रविधि शिक्षण संस्था इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी) को क्याम्पस नेपालमा स्थापना हुने भएको छ। यससँगै नेपाल आईआईटीको विदेशी क्याम्पस सञ्चालन हुने विश्वकै तेस्रो देश बन्नेछ।

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा आईआईटी क्याम्पस स्थापना गर्ने घोषणा गरेका हुन्। सोही अवसरमा नेपालका लागि २४ हजार करोड नेपाली रुपैयाँ बराबरको आर्थिक प्याकेजसमेत घोषणा गरिएको छ। यो विषय दुवै देशको संयुक्त प्रेस वक्तव्यमा समेटिएको छ।
यसअघि भारतले सन् २०२३ मा अफ्रिकी मुलुक तान्जानियाको जान्जिबारमा पहिलो विदेशी आईआईटी क्याम्पस स्थापना गरेको थियो। आईआईटी मद्रासद्वारा सञ्चालित उक्त क्याम्पसमा डेटा साइन्स र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लगायतका विषय पढाइ हुँदै आएको छ।
त्यसैगरी, सन् २०२४ मा आईआईटी दिल्लीले संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीमा अर्को अन्तर्राष्ट्रिय क्याम्पस सञ्चालनमा ल्याएको थियो। त्यहाँ इन्जिनियरिङ, कम्प्युटर साइन्स, ऊर्जा र सस्टेनेबिलिटी विषयमा विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन भइरहेका छन्।
नेपालमा पनि आईआईटी क्याम्पस स्थापना हुने भएपछि उच्च प्रविधि शिक्षाको अन्तर्राष्ट्रिय अवसर विस्तार हुने अपेक्षा गरिएको छ।



























