
हुम्लाः हिमाली जिल्ला हुम्लामा उत्पादित स्याउले जिल्ला बाहिरका बजारमा राम्रो पहुँच बनाउन थालेपछि किसानको आम्दानी उल्लेख्य रूपमा बढेको छ। जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट यस वर्ष किसानले ८ करोड २६ लाख ५६ हजार रुपैयाँ आम्दानी गरेका छन्। सडक सञ्जालको विस्तारसँगै हुम्लाको स्याउ जिल्ला बाहिरका बजारसम्म पुग्न थालेपछि स्थानीय किसान व्यावसायिक खेतीतर्फ आकर्षित भएका छन्।

कृषि विकास कार्यालय हुम्लाका अनुसार यस वर्ष जिल्लामा कुल ६९० हेक्टर क्षेत्रफलमा लगाइएको स्याउबाट पाँच हजार पाँच मेट्रिक टन उत्पादन भएको छ। त्यसमध्ये एक हजार ३७७ दशमलव ६ मेट्रिक टन स्याउ जिल्ला बाहिर बिक्रीका लागि पठाइएको कार्यालय प्रमुख चूडामणि पन्तले जानकारी दिएका छन्।
गाउँपालिकागत रूपमा सबैभन्दा बढी सर्केगार्डबाट ५०० मेट्रिक टन स्याउ निकासी भएको छ। त्यस्तै, सिमकोटबाट ४००, खार्पुनाथबाट २००, चङ्खेलीबाट १४०, ताँजाकोटबाट ६७ दशमलव ६, नाम्खाबाट ५० र अदानचुलीबाट २० मेट्रिक टन स्याउ जिल्ला बाहिर बिक्रीका लागि पठाइएको छ।
गत वर्ष करिब चार करोड रुपैयाँको स्याउ निकासी भएकोमा यस वर्ष कारोबार दोब्बरभन्दा बढी पुगेको हो। काँचो स्याउको निकासी रोक्न गत साउनदेखि गाउँपालिकाका कृषि प्राविधिकको सिफारिस अनिवार्य गरिएको थियो। यद्यपि, सिफारिसबिना पनि स्याउ बाहिर पठाइएको सूचना प्राप्त भएकाले वास्तविक कारोबार अझ बढी हुन सक्ने कार्यालय प्रमुख पन्तको भनाइ छ। व्यक्तिगत रूपमा खरिद गरी पठाइएको र जिल्लाभित्रै खपत भएको स्याउको विवरणसमेत उक्त तथ्याङ्कमा समावेश छैन।
यस वर्ष हुम्लामा ए ग्रेडको स्याउ प्रतिकेजी ६० रुपैयाँ, बी ग्रेडको ५० रुपैयाँ र सी ग्रेडको ४० रुपैयाँमा बिक्री भएको थियो। यसै वर्ष पहिलोपटक हुम्लाबाट आठ मेट्रिक टन फुजी स्याउसमेत जिल्ला बाहिर बिक्री भएको कृषि विकास कार्यालयले जनाएको छ।
स्याउ खरिद–बिक्रीमा संलग्न अदानचुली–३ का अर्जुन फडेराका अनुसार स्याउबाट राम्रो आम्दानी हुन थालेपछि किसानमा खेती विस्तार गर्ने उत्साह बढेको छ। सडक सुविधा विस्तारले बजारसम्म उत्पादन पुर्याउन सहज बनाएको उनको भनाइ छ।
त्यस्तै, ताँजाकोट गाउँपालिकाबाट मात्रै यस वर्ष ११ ट्रक स्याउ जिल्ला बाहिर निकासी भएको गाउँपालिका अध्यक्ष लालकेश जैसीले बताए। आगामी पाँच वर्षभित्र वार्षिक कम्तीमा ५५ ट्रक स्याउ निकासी गर्ने लक्ष्यसहित गाउँपालिकामा स्याउ जोनसमेत निर्माण गरिएको उनले जानकारी दिए।
हुम्लामा स्याउ उत्पादन र बजारीकरणको सम्भावना बढ्दै जाँदा स्थानीय किसानको आयआर्जनसँगै जिल्लाको आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। सडक पूर्वाधार, व्यवस्थित भण्डारण, गुणस्तरीय उत्पादन र बजार व्यवस्थापनमा थप ध्यान दिन सके हुम्लाको स्याउले राष्ट्रिय बजारमा अझ राम्रो पहिचान बनाउन सक्ने देखिन्छ।



























