
सर्वोच्च शिखर सगरमाथा रहेको खुम्बु पासाङल्हामु गाउँपालिकाले आइतबार दिइँदै आएको सार्वजनिक बिदा खारेज गरेको छ। गाउँपालिकाले आइतबारसमेत सरकारी कार्यालय, वडा कार्यालय तथा स्वास्थ्य संस्था नियमित सञ्चालन गर्ने निर्णय गरेको हो।

शनिबार बसेको गाउँपालिकाको १२१औँ बैठकले आइतबारको बिदा हटाउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत दिनेश भट्टराईले जानकारी दिएका छन्। उनका अनुसार निर्णय आइतबारदेखि नै लागू हुने गरी गाउँपालिकाअन्तर्गतका सम्पूर्ण कार्यालय तथा स्वास्थ्य संस्थामा नियमित सेवा सञ्चालन गरिनेछ।
गाउँपालिकाले आफ्नो भौगोलिक बनावट र यातायातका साधनमा पेट्रोलियम पदार्थको प्रयोग अन्य सहरी क्षेत्रको तुलनामा निकै कम हुने भएकाले इन्धन बचतका नाममा आइतबार बिदा दिनु सान्दर्भिक नदेखिएको जनाएको छ।
त्यस्तै, दुर्गम तथा हिमाली क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउनुपर्ने आवश्यकतालाई पनि निर्णयको प्रमुख आधार बनाइएको छ। आइतबार स्वास्थ्य संस्थामा बिदा हुँदा दुर्गम क्षेत्रका बिरामी उपचारबाट वञ्चित हुने र आकस्मिक स्वास्थ्य सेवा प्रवाहमा समेत समस्या सिर्जना हुने गाउँपालिकाको निष्कर्ष छ।
नागरिकका प्रशासनिक कामलाई सहज बनाउँदै सार्वजनिक सेवा प्रवाहलाई छिटो, छरितो र प्रभावकारी बनाउने उद्देश्यले सातै दिन कार्यालय सञ्चालन गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ।
नयाँ व्यवस्थाअनुसार गाउँपालिकाका कार्यालय आइतबारदेखि बिहीबारसम्म बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खुला रहनेछन्। शुक्रबार भने बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म कार्यालय सञ्चालन हुनेछन्। जाडोयाममा भने बिहान १० बजेदेखि साँझ ४ बजेसम्म कार्यालय खुला रहने गाउँपालिकाले जनाएको छ।




























