
बैतडी: प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताकाे सुदूरपश्चिम प्रदेशस्तरीय छनाैट अन्तरगत इलाइट च्याम्पियनसिपमा कैलालीले दाेस्राे जित निकालेको छ। दाेस्राे जित दर्ता गर्ने क्रममा कैलालीले बझाङलाई १०६ रनले हरायो ।

जितका लागि पाएकाे २१२ रनकाे लक्ष्य पछ्याएको बझाङ २६.५ ओभरमा १०६ रनमा समेटियो । जसमा किरन कार्कीले सर्वाधिक ३९ रन बनाएपनि हार भने टार्न सकेनन् । कैलालीका प्रकाश सुनारले ३,धर्म जाेशी र डमेर सुनारले २/२ विकेट हात पारे।
यसअघि फाप्ला मैदानमा बिहान ९ बजेदेखि शुरू हुने भनिएको ५० ओभरकाे खेल बाक्लाे हुस्सु लागेकाले निर्धारित समयभन्दा ढिला सुरू हुँदा ३५ ओभरमा झारिएकाे थियाे ।


टस जितेर पहिला ब्याटिङ गरेकाे कैलालीले ३५ ओभरमा ६ विकेटको क्षतिमा २११ रन बनायाे। उसका ओपनर टेक रावतले अर्धशतकीय पारी खेल्दै ९१ रन हिर्काए। बझाङका अशाेक धामीले २ विकेट लिए।
कैलालीका टेक रावत म्यान अफ द म्याच चुनिएका स्काेरर नरेन्द्रराज भट्टले जानकारी दिनुभयो ।
याेसंगै कैलाली ३ खेलमध्ये दुईमा जित निकाल्दै ४ अंक जाेड्दै फाइनलकाे सम्भावना जीवितै राखेको छ। लगातार तेस्रो हार व्यहाेरेकाे बझाङ भने प्रतियोगिताबाट बाहिरिएकाे छ।
कैलालीले अब अन्तिम खेल आइतबार बैतडी र बझाङले शुक्रबार अन्तिम खेलमा अछामसंग भिड्नेछ।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघकाे आयाेजनामा पुस १४ गतेदेखि शुरू भएको प्रतियोगिता पुस २४ गते सम्पन्न हुनेछ ।































