
बाजुरा : बाजुराको बडीमालिका नगरपालिका–६ कोर्धकी एक गर्भवती महिलाको जिल्ला अस्पताल बाजुराबाट नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।

सोही नगरपालिकाकी ३० वर्षीया सीमा बडुवालको सुत्केरी हुने समय बढी भएको र बच्चा पाठेघरमा अड्किएपछि जिल्लामा सुत्केरी गराउन सम्भव नभएकाले रिफर गरिएको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले जानकारी दिए।
उनले दिएको जानकारी अनुसार गर्भवती महिलाले बच्चा पाउने समय भन्दा बढी भएको र बच्चाको टाउको पाठेघरमा अड्किएपछि महिलाको ज्यान जोखिममा भएकाले रिफर गरिएको बताए ।

अस्पतालले अवस्था जटिल भएपछि जिल्ला प्रशासन कार्यालय बाजुरालाई हेलिकप्टरमा उद्धारका लागि आग्रह गरेकाले प्रशासनले गृह मन्त्रालयलाई पत्राचारपछि नेपाली सेनाको एन ए ९ को हेलिकप्टरमा उद्धार गरिएको निमित्त प्र्रमुख जिल्ला अधिकारी राम कुमार तिमल्सिनाले बताए ।

उनले गर्भवती महिलाको अवस्था जटिल भएको र जिल्ला बाहिर सुत्केरी गराउन लैजानुपर्ने जानकारी गराएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत सेनाको हेलिकप्टरमा उद्धार गरिएको बताएका छन् ।
दुर्गम तथा विकट जिल्लाका गर्भवती र सुत्केरी महिलाको उद्धारका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रम प्रभावकारी बन्दै गएको छ । जटिल गर्भवती तथा सुत्केरी महिलालाई हेलिकप्टरबाट राष्ट्रपति उद्धार कार्यक्रम अन्तर्गत निःशुल्क हवाई उद्धार गर्ने गरेको छ ।
चार महिना पहिले हिमाली गाउँपालिका १ विच्छ्याँकी २३ वर्षीया कल्पना रोकायाले बच्चा पाएर साल नआएपछि सेनाको हेलिप्टरमा उद्धार गरिएको थियो ।































