
धनगढी : पछिल्लो समय धनगढी उपमहानगरको कार्यपालिका बिभाजित बनेको छ । बिभिन्न बिषयमा बिमती राख्दै आएका माओवादी र काग्रेंसबाट निर्वाचित कार्यपालिका सदस्यहरुले राजिनामा दिन बाध्य गराएको मेयर गोपाल हमालले आरोप लगाएका छन् । ‘धनगढी उपमहानगरपालिकाको जग्गा प्लटिङ सम्बन्धी कार्यविधि, २०८०’ नगर सभाबाट पारित भएदेखि रुष्ट भएका नेपाली काँग्रेस र माओवादीबाट विजयी जनप्रतिनिधिहरुले असहयोग गर्दै आएको मेयर हमालले बताएका छन् । आफु र उपमेयर कन्दकला कुमारी रानालाई असफल बनाउन मोर्चाबन्दी गरेको मेयर गोपाल हमालले बताए । मेयर हमालका अनुसार धनगढीको फूलबारीमा नेपाल प्रहरी, श्रीमती संघले सञ्चालन गरेको आसरा सुधार केन्द्रको उद्घाटन कार्यक्रमदेखि गठबन्धन दलका वडा अध्यक्षहरु उपमहानगरका कुनै कार्यक्रममा उपस्थित नभएर बिरोध जनाइरहेका हुन् । एमालेबाट निर्वाचित वडा अध्यक्ष तथा सदस्यहरु सबै कार्यक्रममा सहभागी भइरहँदा काग्रेंस र माओवादीका वडा अध्यक्षहरुले कार्यक्रमहरु बहिस्कार गरेर आफुलार्ई राजीनामा गर्न बाध्य पार्ने अनौपचारिक निर्णय गरेको नगर प्रमुख हमालको दाबी छ ।

शनिवार प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठको बिदाइ कार्यक्रममा समेत उनीहरु सहभागी नभएको जनाइएको छ । यस अघी नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पनि काँग्रेस र माओवादी वडा अध्यक्ष र सदस्यहरू सहभागी भएका थिएनन् । मेयर हमालले गठबन्धनका वडा अध्यक्ष र सदस्यहरू आफ्नो विरुद्ध मोर्चाबन्दीमा लागेको बताएका छन्। उनले भने, ‘उहाँहरुसँग बहुमत छ । सुरुवातमा के गर्न सक्ला र ? एक्लो छ भन्ने थियो। पछिल्ला दिनहरुमा राम्रो काम भयो । उहाँहरुलाई हामीले गरेका राम्रो कामले समस्या भएको छ । सोही कारणले मलाई राजीनामा दिन बाध्य बनाउदै हुनुहुन्छ । प्रमुख प्रशासकीय अधिकृत सापको बिदाइको कार्यक्रम मात्र होइन, आसरा सुधार केन्द्रको उद्घाटनदेखि उहाँहरुले म सहभागी भएका कार्यक्रम बहिस्कार गर्नु भएको हो ।’ नगर प्रमुख हमालले गठबन्धनका दलहरुबाट विजयी जनप्रतिनिधिहरुले काम गर्ने वातावरण नदिएको बताएका छन्न् । उनले शनिवार सम्मको गरेर चार वटा कार्यक्रम गठबन्धनका दलहरुबाट विजयी जनप्रतिनिधिले बहिष्कार गरेको बताए ।
एमालेबाट विजयी वडाध्यक्ष भुवन रिजालले काँग्रेसबाट विजयी वडाध्यक्षहरु र नगर प्रमुख हमाल बिचको मतभेद कम गर्न बिचको बाटोमा रहेको बताए । उनले सु.प मिडियाको एस.टि.भि टक कार्यक्रममा पत्रकार दिनेश बिष्टसंग कुरा गर्दै भने, ‘जग्गाको विवाद सर्वोच्चमा पुगेपछि सकियो । अदालतको निर्णय आउला । बाहिरको बैठकले ऐन खारेज गर्न पनि मिल्दैन । नृप वड नगर प्रमुख हुँदा नै ऐन बनेको छ । तर, गठबन्धन दलहरुबाट प्रतिनिधित्व गर्ने कार्यपालिका सदस्यहरुले कार्यक्रम बहिस्कार गर्नु भएको रहेछ । धनगढीको विकास मात्र गोपाल हमालले गर्नु भएको पनि होइन । उहाँको मात्र काम होइन । हाम्रो पनि लगानी छ । हामीले सहयोग गरेका हौँ ।

काँग्रेसबाट विजयी वडाध्यक्षहरुलाई पनि हामीले भनेको छौँ । यो गतल बाटोमा जाँदैछ ।’ एमालेले कार्यपालिकाको बैठक बोलाउन माग समेत गरेको छ । धनगढीको विकासका लागि एमाले, काँग्रेस, माओवादीबाट विजयी जनप्रतिनिधिहरुको बिचमा फेरि बैठक हुन आवश्यक रहेको एमालेको दलको नेतासमेत रहेका रिजालले बताएका छन् । गठबन्धन दलबाट मेयर र उप मेयरलाई असफल बनाउने खेल भएको रहेछ अध्यक्ष रिजालले भने “तर त्यसो गर्नुहुन्न, केही बिमती भए छलफलमा राख्नुपर्छ, उहाँहरु असफल भए सिंगो कार्यपालिका असफल हुनु हो, हामीले जनतालाई असफल भए के जवाफ दिन्छौँ त्यो बुझ्नुपर्छ, त्यस कारण एक अर्काको बिरोध भन्दापनि सही काममा सहयोग र गलत काममा सच्याउन जरुरी छ ।”

तर, काँग्रेस दलको नेतासमेत रहेका वडा नम्बर ४ का अध्यक्ष बुद्धीबहादुर खड्काले आफूहरूले मोर्चाबन्दी नगरेको बताए । उनले नगर प्रमुखको सचिवालय तथा उपमहानगरपालिकाबाट आधिकारिक रुपमा कुनै कार्यक्रमको खबर नआएकाले कार्यक्रमहरुमा सहभागी नभएको बताए । पहिला कार्यक्रमहरु बारे खबर आउँथ्यो फुर्सद भएका साथीहरु उपस्थित हुन्थ्यौँ उनले भने “अहिले कार्यक्रम बारे फेसबुकमा स्टाटस देखिन्छ अनी त्यही स्टाटस देखेर हो त हामीले कार्यक्रममा सहभागी हुने तपाई आफै भन्नुस त, जग्गा कित्ताकाट सम्बन्धीको बैठकपछि हामीलाई कुनै कार्यक्रमहरुमा बोलाइएको छैन, उल्टै हाम्रा फोन नगर प्रमुखले उठाउनुभएको छैन, फोन अफ हुन्छ, उहाँले हामीसंग छलफलनै गर्न खोज्नुभएको छैन, हामीसंग छलफल गरेर समाधान निकाल्नुको सट्टा फेसबुक र युट्युबमा भनिराख्नुभाछ यसरी समाधान हुन्छ त ।”
जग्गा कित्ताकाट सम्बन्धीको बिधेयकमा बिवाद भएपछि न नगर प्रमुखले बैठकनै बोलाउनु भाछ, न हामी संग अनौपचारिक छलफलनै गर्नु भाछ अनी कहाँबाट हामीले राजिनामा दिनुस भनेका छौँ उनले भने “न कुनै बैठक बसेको छ, न छलफल अनी कुन बेला हामीले राजिनामा दिनुस भन्यौँ, हामीसंग छलफल छैन, फेसबुक र युट्युबमा राजिनामा माग्यो भनिराख्नुभाछ, हामी किन माग्छौँ राजिनामा, पुस मसान्तभित्र नगर परिषद बैठक बसिसक्नुपर्ने माघ पहिलो साता सकिदासम्म त्यो बैठक बोलाउनु भाछैन उहाँले अनी उल्टो हामीलाई राजिनामा दिन लगायो भनेर कुप्रचारमा लाग्नुभाछ ।” हामीलाई छलफलका लागी अनी कार्यपालिका बैठकमा बोलाउँदापनि गएनौँ भने भन्नु ठिक हो, कुनै कार्यक्रम बारे जानकारी गराएरपनि गएनौँ भने गुनासो गर्नु ठिक हो, उनले भने “न हामीलाई बैठकका लागी बोलाइएको छ, न कार्यक्रमका लागी अनी बिना कारण राजिनामा गर्न लगायो भनेर बोलिराख्नुभाछ, यो सरासर गलत हो, वास्तविक कुरा सबैले बुझ्न जरुरी छ, हल्लाको भर नपर्नुस, हामीले न कतै गुटबन्दी गरेका छौँ न, राजिनामानै दिन लगाएका छौँ, हाम्रो बिमती जग्गा कित्ताकाट सम्बन्धीको बिधेयकमा थियो, त्यो सर्बोच्च सम्म पुगेको छ उतैबाट निर्णय आउला, अरु हामीले नगर प्रमुखलाई केही भनेका छैनौँ ।”
बहिस्कार गरेका कार्यक्रमहरू..
१) फुलवारीमा उद्घाटन भएको आसरा केन्द्र
२) वडा न. १६ क्यान्सर स्क्यानिन शिविर
३) फुलवारीमा रहेको ओलकापुरी भोकेशनल स्कुलको पहिलो व्याजका विद्यार्थीहरूको सम्मान तथा बिदाई कार्यक्रम
४) राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता
५) प्रमुख प्रशासकीय अधिकृतको बिदाई तथा सम्मान कार्यक्रम





























